• ४ जेठ २०८२, आइतबार

यातायात ठप्प हुँदा सास्ती

blog

सर्लाही समाचारदाता,सर्लाही, भदौ ६ गते । बाढी आएर खोलाको बाटो बिगारेपछि यातायात सञ्चालन हुन छाड्दा सर्लाहीको उत्तरी चुरेभेगका बासिन्दाको दैनिकी कष्टकर बनेको छ । 

असार तथा साउनमा परेको पानीले बाटो अवरुद्ध गरेपछि सडक सञ्जालमा नजोडिएका यहाँको नारायण खोला, शिर कालिञ्जोर, पिपलदमारलगायतका क्षेत्रमा यातायातका साधन ठप्प भएका छन् । पानी नपर्दा खोलाको बगरबाट सञ्चालन हुने बस, जीपलगायतका सवारीसाधन अहिले ठप्प भएका हुन् । 

गाडी गुड्ने खोलाको बाटोमा बाढी बगिरहेको छ । यातायात ठप्प हुँदा स्थानीयवासीलाई औषधोपचार तथा दैनिक आवश्यक पर्ने खाद्यान्न किन्नका लागि बजारसम्म आउन समस्या परेको हो । लालबन्दी नगरपालिका–१५, शिर कालिञ्जोरका तिलकबहादुर स्याङतानले खोलामा गाडी चल्न छाडेपछि गाडी चल्ने ठाउँसम्म पुग्न पैदल हिँड्नुपर्ने बाध्यता आइपरेको गुनासो गर्नुभयो । “हिउँद यामभर त खोलाकै बगरबाट गाडी चल्दा राहत हुन्छ, अब यो वर्षायाम भर पैदल नै हिँड्नु पर्ने हुन्छ,” उहाँले भन्नुभयो, “अरु बेला पैदल हिँडेरै गाडी चल्ने ठाउँसम्म पुग्छौँ तर बिरामी नै परियो भने असाध्य अप्ठ्यारो पर्छ । झोलुङ्गोमा हालेर परवानीपुर चोकसम्म पु¥याउनुको विकल्प छैन ।”

चुरेभेगका कतिपय बस्तीबाट लालबन्दी बजारसम्म आउनका लागि गाडी चल्ने ठाउँसम्म आइपुग्नै पाँच घण्टासम्म हिँड्नुपर्ने बस्ती छन् । सिन्धुलीको तल्लो भेगसँग सीमा जोडिएका बस्तीबाट घारिबथान, पत्थरकोट र परवानीपुरसहित गाडी चल्ने ठाउँसम्म आउन घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । 

खोलामा बाढी घटेको समयमा जोखिम मोलेर ट्याक्टरमार्फत खाद्यान्न ढुवानी गर्ने गरिएको छ । त्यसरी खाद्यान्न लैजाँदाबिच बाटोमा पुग्दा नपुग्दै बाढी आउने र बारम्बार ट्याक्टर फस्ने समस्या रहेको लालबन्दी नगरपालिका–१४, नारायण खोलाका रोशन दोङले बताउनुभयो । 

चुरेभेगमा कतिपय स्थानीयवासीले वर्षायाममा बर्सेनि यातायात ठप्प हुने भएकाले हिउँदमै खाद्यान्न लगेर जोहो गरी राख्ने गरेका छन् । त्यहाँ रहेका स–साना किराना पसलमा खाद्यान्न र अन्य सरसामग्रीको मूल्य वर्षायाममा दोब्बर नै हुने गरेको छ । 

ईश्वरपुर नगरपालिका–१२, माथिल्लो छोड्केका वीरबहादुर तामाङले वर्षायाममा बिरामी पर्दा झोलुङ्गो बोक्ने मान्छेधरी नपाइने बताउनुभयो । “यो झरीको समयमा सामान्य बिरामी परियो भने घरमै बस्ने हो तर गम्भीर नै बिरामी परियो भने झोलुङ्गोमा हालेर गाडी चल्ने ठाउँसम्म पु¥याउँछौँ,” उहाँले भन्नुभयो, “हिजोआज त गाउँघरमा युवा नै बस्न छाडेकाले झोलुङ्गो बोक्ने मान्छे जुटाउन पनि मुस्किल पर्छ ।”

बिरामी बोकेर ल्याउन झोलुङ्गो बोक्ने चार जना चाहिन्छ । पालो दिने मान्छे नहुँदा चुरेको पाखो तथा खोलाको बगरबाट बिरामी बोकेर ल्याउन असाध्य अप्ठ्यारो हुने गरेको तामाङले बताउनुभयो ।