• ११ मंसिर २०८१, मङ्गलबार

छ सन्तानकी आमा पढ्दै कक्षा ६ मा

blog

गिरीलाई सम्मानित गर्दै कोहलपुरका नगर प्रमुख आचार्य । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ ५ गते । भनिन्छ ‘पढ्ने र सिक्ने कुनै उमेर हुँदैन’, पढाइ र सिकाइको महत्वबारे ज्ञान हुनेवित्तिकै इच्छा शक्ति हुने हो भने उमेरले पढ्न सिक्न छेक्दैन । भनाइलाई सार्थक बनाउनुभएको छ कोहलपुर–५ कि ६१ वर्षीया प्रेमकुमारी गिरीले । 

पढाइको महत्त्व थाहा पाएर बाँकेको कोहलपुर नगरपालिका –५ एनसीसीएनकी ६१ वर्षीया प्रेमकुमारी गिरी वडा –११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । 

६१ वर्षीया गिरीले आफू सानो छँदा पढाइ लेखाइबारे त्यति जानकारी नभएकाले पढ्न नसकेको जनाउँदै अहिले आएर शिक्षा हरेक व्यक्तिका लागि अनिवार्य भएको महसुस गरी विद्यालयमा अध्ययन गरिरहेको बताउनुभयो । 

उहाँले यो संसारमा सबैभन्दा महत्त्वपूर्ण र आवश्यक विषय शिक्षा रहेको जानकारी पाएपछि पढ्ने रहर जागेर आएको बताउनुभयो । स्थानीय ज्ञानज्योति माध्यमिक विद्यालयमा नाति नातिनी उमेरका साना–साना बालबालिकासँगै पढाइ गरिरहेको बताउनुभयो । 

गिरीले थप्नुभयो, ‘इच्छा शक्ति हुने हो भने पढाइलाई न समयले छेक्छ, न त उमेरले नै, मात्र मानिसमा चाहना र इच्छा हुनुपर्छ ।’ ६ सन्तानकी आमा गिरीका छोराछोरी आफ्नो व्यापार व्यवसायमा सक्रिय छन् । उहाँकी कान्छी छोरी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा हुनुहुन्छ । 

उहाँले पढाइको महत्त्व थाहा पाएर नै छोरीलाई यति धेरै टाढा अस्ट्रेलियामा पढ्नका लागि पठाएको बताउनुभयो । पछिल्लो समय कोहलपुरका विद्यालयमा निकै सुधार भएको गिरीको अनुभव छ । 

गिरीको पढ्ने चाहना र इच्छा देखेर विद्यालयका शिक्षक शिक्षिका पनि अति उत्साहित छन् । शिक्षाका लागि गिरी यस क्षेत्रका सबैका लागि गतिलो उदाहरण बनेको बताएका छन् । 

ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले गिरीको पढ्ने चाहना हेरेर उहाँलाई कक्षा ६ मा भर्ना गरिएको जनाउँदै ७७ जना बालबालिका सँगै उहाँ कक्षामा अध्ययन गरिरहनु भएको बताउनुभयो । 


नगरपालिकाद्वारा सम्मान 

६१ वर्षमा पनि विद्यालय भर्ना भएर अध्ययन गरिरहेकोमा गिरीको चाहना र इच्छाको कदर गर्दै उहाँलाई कोहलपुर नगरपालिकाले सम्मान गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यले गिरीलाई विद्यालयमा पुगेर सम्मानित गर्नुभयो । 

नगर प्रमुख आचार्यले गिरीको यो प्रयासले शिक्षाको महत्त्व बुझ्न अरू नगरवासीलाई प्रोत्साहित गर्ने जनाउँदै उहाँलाई सम्मान गरिएको बताउनुभयो । उहाँले कोहलपुरका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आफूहरू सक्रिय भएर लागेको जनाउँदै विद्यालयमा त्यसको प्रभाव देखिन समेत थालेको बताउनुभयो । 

उक्त अवसरमा गिरीले पढ्न चाहने सबैले सहज र सरल तरिकाले गुणस्तरीय शिक्षा लिन पाउने वातावरण बनाउन नगरपालिकालाई आग्रह गर्नुभयो ।