• २४ पुस २०८१, बुधबार

संसद् अवरोध जनतामाथिको अन्याय : कांग्रेस नेता महर

blog

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर ।

जनकपुर, भदौ ५ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा (एमाले) ले संसद् अवरोध गरेर जनतामाथि अन्याय गरेको बताउनुभएको छ ।

मङ्गलबार कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सदस्य महरले एमाले अवरोधका कारण संसदमा सांसदहरूले जनताका समस्या उठाउन नपाएको गुनासो गर्नुभयो ।

‘‘एमालेले संसदमा अवरोध गरेर जनतामाथि अन्याय गरेको छ । एमालेको अवरोधका कारण संसदमा सांसदहरूले जनताका समस्या उठाउन पाएका छैनन् । संसद् जनमतको कदर गर्ने थलो हो ।,’’ केन्द्रीय सदस्य महरले भन्नुभयो, ‘‘कुनै असन्तुष्टि भए संसदमा मज्जाले मत राखेर जनतासामु पुर्‍याउन सकिन्छ । सच्याउनका लागि दबाब दिन सकिन्छ । तर संसद् अवरोध गरेर लामो समयदेखि गतिरोध सिर्जना गर्नु गैर जिम्मेवारीपन हो । एमालेले यस्तो गर्न लाज मान्नुपर्ने हो ।’’

केन्द्रीय सदस्य महरले जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप समेत लगाउनुभयो । एमालेले सत्तामा हुँदा होस् वा प्रमुख प्रतिपक्षी हुँदा होस् सांसदमाथि प्रहार गरिरहनु गैर लोकतान्त्रिक भूमिका भएको समेत महरको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको र अहिले प्रतिपक्षमा हुँदा पनि सांसदमाथि नै प्रहार गर्न खोजिरहेको महरको आरोप छ । ‘‘म ओलीजीलाई प्रश्न गर्न चाहन्छु, लोकतान्त्रिक व्यवस्थामा सदनप्रतिको यति धेरै आक्रोश किन हो ? सदन के तपाईँ एक जनाको चाहना अनुरुपमात्रै चल्नुपर्ने हो ? एमाले प्रतिपक्षमा हुँदा पनि सत्ताको कस्तो भाग खोजिराख्नु भएको हो ? भाग पाए संसद् चल्न दिने, नत्र संसद् चल्न नदिने अलोकतान्त्रिक र गैर जिम्मेवार चरित्र भएन र ?,’’ महरले भन्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले जानुपर्ने महरको धारणा छ । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर एमालेले आफ्ना असन्तुष्टि राखेको भए बहुदलीय व्यवस्थामा दलगत लोकतान्त्रिक चरित्र प्रस्तुत हुने उहाँले बताउनुभयो ।