• १३ मंसिर २०८१, बिहिबार

पहिरोको जोखिममा कोटिलागाउँ

blog

मुगु समाचारदाता

मुगु, भदौ ५ गते । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–६, कोटिलागाउँका १८७ घर पहिरोको उच्च जोखिममा परेका छन्। पहिरोका कारण बस्ती चिरा परेपछि ती घरहरू जोखिममा परेका हुन्। रारा नगरपालिका–६ का अध्यक्ष खेमबहादुर रावलका अनुसार पहिरोका कारण बस्ती भएको जमिन आसपासमा चिरा पर्दा बस्ती उच्च जोखिममा परेको छ। बस्तीमुनिका जमिन खाल्डो पर्दै गएको छ। बस्तीलाई स्थानान्तरण गर्ने ठाउँ नहुँदा पुरानै थाकथलोमा बस्न बाध्य भएको स्थानीय बताउँछन्।

अध्यक्ष रावलले भन्नुभयो, “असोज महिनाको बाढीले कोटिलागाउँको जमिनमा चिरा पर्न थालेको छ। केही दिनअघि परेको निरन्तरको वर्षाले अहिले बस्ती झनै जोखिमपूर्ण बनेको छ।” वर्षाले बस्ती आसपासमा जमिन भासिँदै गएपछि अधिकांश घरको आँगन नै चिरा परेको छ। बस्ती आसपासमा बाढीले जमिन काट्दा गाउँका बासिन्दालाई आउजाउ गर्न असहज भएको बताइन्छ। पहिरोको जोखिम बढेपछि गाउँमा बस्न सक्ने अवस्था नरहेको स्थानीयले बताएका छन्। स्थानीय लालभक्त कामीले बस्ती आसपासमा बाढीले कटान गर्दा गाउँमा बस्नलाई अत्यास लाग्ने अवस्था आएको बताउनुभयो।

उहाँका अनुसार खेतीपाती गर्ने जमिनसमेत बाढीले कटान गरेको छ। रात बस्नका लागि छिमेकीको घरमा गएर बास माग्नुपर्ने बाध्यता छ। पहिरोको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओढ्ने ओछ्याउने बोकेर छिमेकी र आफन्तकोमा सुरक्षित बास बस्न जाने गरेका छन्। कोटिलागाउँका ज्येष्ठ नागरिक गणेश कार्कीले गाउँमा यस्तो विपत्को अवस्था यसअघि थाहा नभएको बताउनुभयो। 

जिल्ला प्रशासन कार्यालय मुगुको विपत् तयारी तथा प्रतिकार्य योजनाको तथ्याङ्क अनुसार जिल्लाको छायानाथ रारा नगरपालिका–३ को फुली, निगाले, वडा नं.–६ को तलिबालै, कोटिला, मुन्दु वडा नं.–८ को झ्यारी, वडा नं.–९ को मुर्मा, वडा नं.–११ र वडा नं.–१२ को शोभागाउँका बस्ती उच्च जोखिममा छन्।