• १६ भदौ २०८१, आइतबार

सुधार गृह तोडेर भागे कैदीबन्दी, १९४ जना प्रहरीको सम्पर्कमा

blog

भक्तपुर, भदौ ५ गते । समयमै उपचार नभएर सहकर्मीको मृत्यु भएको भन्दै आन्दोलनमा उत्रिएका बाल सुधार केन्द्रका किशोरहरू झ्याल र पर्खाल फुटाएर भागेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भागेका मध्ये १९४ लाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बाँकी फरार २६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । ७५ जना कैदीबन्दी भने नभागी सुधार गृहमै रहेको बताइएको छ । 

कमजोर व्यवस्थापन र बाहिरबाट आन्दोलन भएको मौकाको फाइदा उठाउँदै सुधार गृहको पर्खाल र गेट फोरेर किशोर भागेपछि भक्तपुरमा सयौँको सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । ठुलो सङ्ख्यामा प्रहरी परिचालनसँगै स्थानीयमा केही समय त्रास फैलिएको थियो । भाला, छुरीलगायतका घरेलु हतियार नै बोकेर सुधार गृहका किशोर सडकमा आएका थिए । प्रत्यक्षदर्शीका अनुसार डेढ सयभन्दा बढी कैदीलाई पछाडिको ढोका फोडेर भागेका थिए । सुधार गृहमा सादा पोसाकका बिनाहतियारका प्रहरी मात्रै बस्न पाउँछन् । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो, “सुधार गृहमा हतियार बोकेर सुरक्षाकर्मी जान मिल्दैन । त्यहाँ लाठी चार्ज पनि गर्न नमिलेको र कमजोर व्यवस्थापनका कारण कतिपय किशोर भाग्न पुगे ।” उहाँले सुरक्षा घेराभन्दा बाहिर नभएको र सम्पर्कमा आउने क्रम जारी रहेको उल्लेख गर्नुभयो । गृह तोडेर भाग्ने क्रममा प्रहरीसँगको झडपमा केही प्रहरी र किशोर घाइते भएका थिए । 

कैदीबन्दीको आन्दोलन सोमबार मात्रै नभएर आइतबारदेखि नै सुरु भएको थियो । सोमबार दिउँसो उनीहरूले रड, भालालगायतका सामग्री प्रयोग गरेर बालगृहको पछिल्लो भाग फुटाएर भागेका थिए । केही समय उनीहरूले सडक नै कब्जा गरेका थिए । 

दुई दिनयता सो बालगृह अशान्त बनेको थियो । बाहिरबाट मृतकका आफन्तको थप मदत पाएपछि गृहलाई नै सोमबार नियन्त्रणमा लिएका थिए । सोमबार दिउँसो सुधार गृह तोडेर भागेको खबर लगत्तै उपत्यकाका तीन जिल्लाका सुरक्षा निकायले आफ्ना सम्पूर्ण शक्ति त्यसैमा लगाएका थिए  ।  सुधार गृहको युसेप नेपालका निर्देशक केशव सुवालका अनुसार सुधार गृहमा रहेका बालिका भने सुधार गृहमै छन् । 

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षका कमल बस्नेतको आइतबार रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरिरहेका थिए । 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीका अनुसार जिल्ला प्रहरी कार्यालय रामेछापबाट विसं २०७७ जेठ २९ गते जबरजस्ती करणी मुद्दामा सुधार गृहमा बस्नेतलाई पठाइएको थियो । 

बस्नेत आइतबार बिहान अचानक बेहोस भएपछि उपचारका लागि गट्ठाघरस्थित नागरिक अस्पतालमा लगिएकामा उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्युको कारण खुलेको छैन । शव पोस्टमार्टमका लागि केएमसी अस्पतालमा राखिएको छ । थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका थिए । 

आइतबार दिउँसो भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । 

भागेका सबैलाई नियन्त्रणमा लिन खोजी कार्य तीव्र पारिएको छ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका नाकामा उच्च सतर्कता अपनाएर खोजी कार्य भइरहेको सहायक प्रजिअ निरौलाले बताउनुभयो । 

घटनास्थलमा उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।