काठमाडौं, भदौ ४ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बन्नुभएका डा. शम्भु आचार्यका पक्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भारत भ्रमणका बेला माल्दिभ्स, भारत, म्यान्मार, भुटान, श्रीलङ्का, थाइल्याण्ड, कोरिया लगायतका देशका स्वास्थ्य मन्त्रीहरूसँग ‘लबिङ’गर्नुभएको छ ।
डब्लूएचओका तीन वटा महत्त्वपूर्ण कार्यक्रममा भाग लिन लिन भारतको गुजरात पुग्नुभएका मन्त्री बस्नेतले त्यहाँ बस्दा नेपाल सरकारले डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशकको उम्मेदवार बनाएका जनस्वास्थ्य विज्ञ डा.आचार्यको पक्षमा मत दिन आग्रह गर्नुभएको हो ।
एक साता लामो भारत भ्रमण सकेर सोमबार स्वदेश फर्किनुभएका स्वास्थ्य मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आफूले नेपाल सरकारको तर्फबाट डा.आचार्यको पक्षमा मत मागेको बताउनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘‘डा.आचार्यको उम्मेदवारी हामी सबै नेपालीका लागि प्रतिष्ठाको विषय हो । मैलै भारतमा बस्दा डब्लूएचओ ‘सेरो’ देशहरूका स्वास्थ्य मन्त्रीहरूलाई भेटेर नेपालको उम्मेदवारीको विषयमा कुराकानी गरेर मत मागेको छु । सबै पक्षबाट सकारात्मक प्रतिक्रिया पाएको छु ।’’
लामो समय विश्व स्वास्थ्य सङ्गठनको मुख्यालय जेनेभामा बसेर निर्देशकको रूपमा काम गरिसकेका डा.आचार्य आउँदो महिना हुने डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशक निर्वाचित भए नेपालको स्वास्थ्यमा दूरगामी प्रभाव पर्ने बताउँदै मन्त्री बस्नेतले यस विषयमा नेपाल सरकारले अझै प्रयास जारी राख्नेमा जोड दिनुभयो।
डब्लूएचओ ‘सेरो’ मा दक्षिण पूर्वी एसिया क्षेत्रका ११ वटा देश पर्छन । क्षेत्रीय निर्देशकमा विजयी हुनका लागि ६ मत आवश्यक पर्छ । डब्लूएचओ ‘सेरो’का सदस्य देशहरूमा नेपाल सहित भारत, बंगालादेश, भुटान, श्रीलङ्का, थाइल्याण्ड, टिमोर लेस्टे, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार र दक्षिण कोरिया सदस्य छन् ।
डा.आचार्यसँगै बंगालादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदकी पुत्री सैमा वाजेद पनि उम्मेदवार हुनुहुन्छ । दुई कार्यकाल भारतकी डा.पुनम क्षेत्रपालले क्षेत्रीय निर्देशक भएर आउँदो महिना कार्यकाल सकिन लागेको छ । डब्लूएचओ ‘सेरो’ को क्षेत्रीय निर्देशको चयन अक्टोबरको अन्तिम हप्ता हुनेछ ।
मन्त्री बस्नेतले भारतमा रहँदा डब्लूएचओ ‘सेरो’ देशहरूको स्वास्थ्य मन्त्रीहरूको बैठकमा सहभागी भएर क्षयरोग अन्त्यको लागि नेपालको तर्फबाट मन्तव्य राख्दै उच्चस्तरीय राजनीतिक प्रतिबद्धता पनि जनाउनुभएको थियो ।
यस्तै मन्त्री बस्नेतले डब्लुएचओको प्राकृतिक चिकित्सा सम्बन्धी ग्लोबल समिटमा भाग दिएर त्यसको प्लेनरी सेसनमा नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो । स्वास्थ्य मन्त्री बस्नेतले वान हेल्थ, वान अर्थ नामक फर्मा एक्स्पोको अवलोकन समेत गर्नुभएको थियो ।