• २५ वैशाख २०८१, मङ्गलबार

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

blog

लीला झापाली

बिर्तामोड, भदौ ४ गते । झापाको बुद्धशान्तिमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । आइतबार बिहान एजुकेशन फाउन्डेसनको मे १ क ८६० नम्बरको स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते बालिकाको उपचारका क्रममा आज (सोमबार) मृत्यु भएको हो ।

स्कुल बसको ठक्करबाट गम्भीर घाइते आठ वर्षीया समीक्षा बस्नेतको बिएन्डसी अस्पताल बिर्तामाेडमा उपचारका क्रममा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

आमा रीता बस्नेतले चलाएको साइकल पछाडि बसेकी समीक्षालाई बुद्धशान्ति गाउँपालिका–३ स्थित जयपुर–बुधबारे सडकखण्डमा बसले ठक्कर दिएको थियोे । दुर्घटनामा समीक्षासहित ३५ वर्षीया आमा रीता र पाँच वर्षीय भाइ सन्दीप घाइते हुनुभएको छ ।

आमा र भाइको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । रीता र सन्दीपको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । रीताको बाँयापट्टी कम्मरमा र सन्दीपको बायाँ खुट्टामा चोट लागेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काका अनुसार बस चालक बुद्धशान्ति–१ का ३५ वर्षीय मदन घिमिरेलाई इलाका प्रहरी कार्यालय बुधबारे हिजो नै नियन्त्रणमा लिइसकेको छ ।