• १४ मंसिर २०८१, शुक्रबार

पहिराेले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

blog

लमजुङ, भदौ  ३ गते ।  पहिराेले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने  यस सडकखण्डअन्तर्गत खरखरेभीर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराेले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भन्नुभयो, “यस सडक अन्तर्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभीर, मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको छ ।” उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उहाँको भनाइ छ ।

सो स्थानमा ठूला–ठूला ढुङ्गासहितको पहिराेले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ । सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् । यसअघि गत आइतबारसमेत नासों गाउँपालिका–१ तालडाँडामा पहिराेले सडक अवरुद्ध बनाएको थियो । 

त्यस्तै छ दिनअघि यस सडकको विभिन्न स्थानमा पहिराेले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक–पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ । सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन् । पैंसठ्ठी किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी छ । रासस