हुम्ला समाचारदाता
हुम्ला, भदौ ३ गते । नाम्खा गाउँपालिकाले जग्गाको वर्गीकरण सुरु गरेको छ। अन्य पालिकाले जग्गा वर्गीकरण गर्न नसकिरहेको बेला गाउँपालिकास्तरीय समितिले जग्गाको वर्गीकरण गरेको हो।
गाउँपालिका अध्यक्ष एवं सङ्घीय भूउपयोग समिति अन्तर्गतको स्थानीय स्तरमा कार्यान्वयन समितिका अध्यक्ष प्रेमबहादुर लामाले पालिकाभित्रको जग्गा वर्गीकरण गर्न थालिएको बताउनुभयो। नाम्खा गाउँपालिकाले जग्गा वर्गीकरण गरेसँगै जग्गासम्बन्धी कारोबार गर्ने बाटोसमेत खुलेको छ। हालसम्म जग्गाको वर्गीकरण गर्न नसकेको भन्दै सबैतिर विरोध भइरहेको बेला नाम्खा गाउँपालिकाले आफ्नो कार्य पूरा गरेको छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले समितिले गाउँपालिका भित्रको सबै जग्गालाई १० प्रकारमा वर्गीकरण गर्ने कार्य गरेर कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो।
उहाँका अनुसार समितिले गरेको जग्गाको वर्गीकरणमा कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, वन क्षेत्र, खानी तथा खनिज क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपभोगको क्षेत्र, सांस्कृति तथा पुरातात्त्विक महत्वको क्षेत्र र नेपाल सरकारले आवश्यकता अनुसार तोकिएको क्षेत्रमा वर्गीकरण गरिएको छ।