अर्जुन काफ्ले
स्याङ्जा, भदौ ३ गते । पुतलीबजार नगरपालिका ३ कुमाल गाउँमा रहेको स्याङ्जा जिल्ला अस्पतालले साढे नौ महिनामा मेडिकल सुपरिटेन्डेन्ट पाएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रमेशप्रसाद आचार्य गत कार्तिक १५ गते लमजुङ जिल्ला अस्पतालमा सरुवा भएसँगै रिक्त अस्पतालले डा. रुक्बिना अधिकाराीलाई प्रमुखको रूपमा पाएको हो । डा. आचार्यको सरुवासँगै वरिष्ठ नर्सिङ अधिकृत कृष्णकुमारी कार्कीले नेतृत्वमा अस्पताल चलेको थियो ।
गते साउन ८ गते स्टाफ नर्सको नेतृत्वमा जिल्ला अस्पताल समाचार गोरखापत्रमा प्रकाशन भएसँगै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले डा. अधिकारीलाई जिल्ला अस्पतालको मेसुकाे जिम्मेवारी दिएर पठाएकाे हो । नवौँ तहको अस्पताल प्रमुख र दुई मेडिकल अफिसरसहित २५ जनाको स्थायी दरबन्दी रहेको यस अस्पताल २५ बेडको हो ।
मेसुको सरुवा र मेडिकल अफिसर एमडी अध्ययन गर्न धरान र वीर अस्पताल गएसँगै वरिष्ठ नर्स कार्कीले अस्पताल चलाउँदै आउनुभएको थियो । अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा आउनु भएकी आउनुभएकी डा. अधिकारी यस अगाडि जिल्ला अस्पताल प्रमुखका रूपमा पर्वतमा कार्यरत रहनुभएको थियो ।
नव आगन्तुक अस्पताल मेसु डा. अधिकारीले १४ महिना पर्वत जिल्ला अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र म्याग्दीमा कार्यक्रम अधिकृतको रूपमा जिम्मेवारी निर्वाह गरेको र अनुभवको उपयोग गर्दै क्षमताले भ्याएसम्म अस्पतालका हितमा काम गर्ने बताउनुभयो ।
अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ भने एमजिडीपी, बहिरङ्ग, शल्यक्रिया, मिर्गौला डायलिसिस, मातृ शिशु तथा प्रसूति सेवा, आँखा, दाँत, भिडियो एक्स-रे, स्वास्थ्य बिमा, अपाङ्गता सहायता कक्ष र एकद्वार सङ्कट व्यवस्थापन र चौबीसै घण्टा आकस्मिक सुविधा लगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।
आफू नर्सिङको कर्मचारी भएको बताउँदै निमित्त प्रमुख कृष्ण कार्कीले प्रशासन तर्फको निर्णय गर्दा आफूलाई समस्या भएको बताउनुभयो । कुनै समय बिरामी नै आउने अस्पतालमा पछिल्लो क्रममा सुधारसँगै अहिले दैनिक १५० भन्दा बिरामी आउने गर्दछन् ।
यहाँ पछिल्लो दुई बर्सबाट पोखराको पश्चिमाञ्चलबाट पाउने सबै सेवा जिल्ला अस्पताल पाउने गरिएको छ ।