• १३ साउन २०८१, आइतबार

पाइप बगाउँदा खानेपानीको समस्या

blog

नुवाकोट समाचारदाता

नुवाकोट, भदौ ३ गते  । बर्सातका कारण खानेपानीको मुहान र पाइप बगाउँदा नुवाकोटको सदरमुकाम विदुरलगायत नगर क्षेत्रमा खानेपानी आपूर्तिमा समस्या भएको छ । 

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी मुहान र पाइपमा वर्षासँगै आएको बाढीले क्षति पु¥याएपछि चार हजारभन्दा बढी घरधुरी प्रभावित भएका छन् । 

साउन २७ र २८ गते लगातारको वर्षाले फलाखु खोलाबाट ल्याइएको पानीको १३० मिटरको पाइप बगाएपछि संस्थाले वितरण गर्दै आइरहेको नुवाकोट सदरमुकाम विदुर, बट्टार, पिपलटारलगायतका क्षेत्रमा खानेपानी समस्या भएको विदुर खानेपानी तथा सरसफाइ खानेपानी संस्थाका सचिव राजेन्द्र पाण्डेले बताउनुभयो  । 

प्राविधिकसहितको टोलीले मुहानदेखि करिब तीन किलोमिटर तल पानीको पाइप बाढीले बगाएको स्थानसम्मको अवलोकन र निरीक्षणपछि ३५५ एमएमको खानेपानी पोलिथिन पाइप राखेर अस्थायी रूपमा खानेपानी सञ्चालन गर्न सुझाएको छ । पाइप, ढलान र ग्याबिन जाली बगाउँदा करिब ५० लाख रुपियाँभन्दा बढीको क्षति भएको स्थलगत निरीक्षणपछि प्रारम्भिक अनुमान गरिएको सचिव पाण्डेले बताउनुभयो । 

उहाँका अनुसार अस्थायी मर्मतका लागि थोरैमा एक साता लाग्ने छ । साथै आवश्यक खर्चका लागि लागत अनुमान गरी जिल्ला विपत् व्यवस्थापन समिति र विदुर नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको सचिव पाण्डेले बताउनुभयो । फलाखु खोला मुहान सम्झौता अनुसारको संरचना निर्माण नभएको पाइएकाले मुहानको संरचना निर्माण गर्ने निर्माण व्यवसायी सिको कालिका टुन्डी जेभीलाई ताकेता गरिएको छ । 

खानेपानी आपूर्तिका लागि वैकल्पिक रूपमा प्रयोग हुँदै आएक‍ो बट्टार र विदुरको डिप बोरिङको खानेपानी बुधबारदेखि नै वितरण गरिएको संस्थाका प्रबन्धक राजकुमार तिमिल्सिनाले बताउनुभयो । खानेपानी अभाव भएपछि वितरण गरिएको खानेपानी जोहो गरी उपभोग गर्न अनुरोध गरिएको छ । 

साथै विदुर नगरपालिका–१, ढुङ्गेदेखि वडा नं.–९, कोलेनीसम्मको मुख्य पाइपलाइन प्रयोगमा भएको सामग्री गुणस्तरहीन पाइएकाले उक्त सामग्री सम्झौता अनुसार गुणस्तरको सामग्री प्रयोग गरी मर्मत कार्य सम्पन्न गर्न निर्माण पक्षलाई भनिएको छ । 

बाढीका कारण अहिले पानी वितरण गर्न नसकेपछि उपभोक्ता स्थानीय ढुङ्गेधारा, खोल्साको पानी र आकाशे पानी सङ्कलन गरी उपभोग गर्न बाध्य भएको विदुर नगरपालिका–४ का उपभोक्ता हरिजङ्ग पाण्डेले बताउनुभयो  । खानेपानी आपूर्ति नहुँदा नगरपालिकाका पाँच वटा वडाका १२ हजारभन्दा बढी उपभोक्ता प्रभावित हुने छन् ।