• १५ वैशाख २०८२, सोमबार

धनुषाधाममा रेबिज विरुद्धको खोप सेवा सुरु

blog

विजयकुमार साह 

ढल्केबर, वैशाख १५ गते । धनुषाको धनुषाधाम नगरपालिकाले रेबिज विरुद्धको खोप सेवा सुरु गरेको छ । नगरपालिकाले कुकुर तथा जङ्गली जनावरको टोकाइ विरुद्ध खोप सेवा सञ्चालनमा ल्याएको हो ।

धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले कुकुर तथा अन्य जङ्गली जनावरको टोकाइबाट हुनसक्ने सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरण गर्न यो सेवा सुरु गरिएको जानकारी दिनुभयो । रेबिज जस्तो घातक रोगबाट बच्न समयमै खोप लगाउनुपर्नेमा जोड दिँदै उहाँले खोप सेवा सहज र पहुँचयोग्य बनाइएको बताउनुभयो । उहाँले कुनै आशङ्का वा समस्या देखिएमा तत्कालै धनुषाधामस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न नगरवासीलाई आग्रह गर्नुभयो ।

नगर प्रमुख मण्डलले रेबिज सङ्क्रमणले गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्न सक्ने भएकाले कुकुर वा जङ्गली जनावरको टोकाइबाट प्रभावित व्यक्तिले ढिला नगरी खोप लगाउनुपर्ने सुझाव दिनुभयो । उहाँका अनुसार यो सेवा वैशाख महिनादेखि धनुषाधामस्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट सञ्चालनमा ल्याइएको छ ।