• १३ साउन २०८१, आइतबार

स्वतन्त्रता आन्दोलनमा नेपालीको योगदान

blog

भारतमा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) ले करिब दुई सय वर्षसम्म राज गरे । सन् १८५६ ई. मा सिपाही विद्रोहदेखि सशक्त रूपमा अङ्ग्रेज शासकविरुद्ध आन्दोलन सुरु भयो । भारतको लखनउ, मेरठ क्षेत्रमा सिपाहीले गरेको विद्रोहलाई सिपाही विद्रोह भनिन्छ । यसलाई दबाउन अङ्ग्रेज सरकारले नेपाली शासकसित सहयोग मागे । सोहीबमोजिम तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको नेतृत्वमा नेपाली फौज लड्न गए । दुवैतर्फका धेरै सिपाहीका, साथै आमजनता भिडन्तमा मारिए । दुवै पक्षबिच महिनौँसम्म भिडन्त हुँदा पनि अङ्ग्रेज शासक पराजित भएनन् ।

भारतीय जनता अङ्ग्रेज शासकविरुद्ध आन्दोलनरत नै थिए । सन् १९२१ मा अफ्रिकाबाट महात्मा गान्धी फर्किएपछि आन्दोलनले तीव्र रूप लियो । उहाँको नेतृत्वमा ‘नमक सत्याग्रह’, विदेशी वस्त्र बहिष्कार आन्दोलन भए तर पञ्जाबको अमृतसरनजिकै जालियानावाला बागमा अङ्ग्रेज फौजले निर्दोष भारतीय जनतामाथि अन्धाधुन्ध गोली चलाई मारे । त्यहाँ रगतको आहाल देखेर महात्मा गान्धी विरक्त भए । त्यसको केही महिनापछि १९४२ अगस्त ८ मा बम्बईमा भारतीय राष्ट्रिय कङ्ग्रेसको सम्मेलन बोलाई त्यसमा अङ्ग्रेज शासकविरुद्ध कडा रूपमा आन्दोलन गर्ने निर्णय गरे । त्यसलाई भारत छोडो आन्दोलनको नाम दिई “गर या मर” भन्ने नारा अघि सारे । त्यही महिनाको १५ तारिखदेखि सम्पूर्ण भारतमा अङ्ग्रेजविरुद्ध सशक्त आन्दोलन सुरु भयो । सरकारी कार्यालय, संस्थानहरू, रेल कम्पनी तथा सम्पूर्ण यातायात क्षेत्र ठप्प पारियो । रेलका लाइन सडक तोडफोड गरी अवरुद्ध पु-याइयो ।  अङ्ग्रेजका सिपाहीमाथि अन्धाधुन्ध आक्रमण गरियो । भारतभर आन्दोलनले उग्र रूप लियो ।

त्यसपछि  अङ्ग्रेज शासकले आन्दोलनकारी नेता र कार्यकर्तालाई धमाधम गिरफ्तार गर्न थाले । महात्मा गान्धी, जवाहरलाल नेहरू, डा. राजेन्द्रप्रसाद, जयप्रकाश नारायण, डा. राममनोहर लोहियालगायत उच्च तहका नेता गिरफ्तारीमा परे । तिनीहरूलाई पटना, हजारीबाग, छपरा, लखनउ, दिल्ली, कानपुर जस्ता जेलमा राखे । भारतमा अध्ययनरत नेपाली जो भारतीय स्वतन्त्रता आन्दोलनमा लागेका थिए, तिनीहरू पनि गिरफ्तार भए ।

त्यस सिलसिलमा बिपी कोइराला, मनमोहन अधिकारी, सूर्यप्रसाद उपाध्याय, सुन्दरराज चालिसे, भद्रकाली मिश्र, श्यामानन्द मिश्र, कुशेश्वर पाठक, कृष्णप्रसाद भट्टराई, देवीप्रसाद सापकोटालाई गिरफ्तार गरी विभिन्न जेलमा राखियो । बिपी कोइरालालाई हजारीबाग जेलमा नै राखे । त्यहीँ डा. राजेन्द्रप्रसाद, राम अनुग्रह सिंह जस्ता ठुला नेता पनि बन्दी बनाइएका थिए । सूर्यप्रसाद उपाध्यायलाई चाहिँ लखनउ जेलमा बन्दी बनाइएको थियो, जहाँ जवाहरलाल नेहरू र किदबई भन्ने नेतालाई पनि सँगै राखिएको थियो । यसरी भारतमा अध्ययन र कामको सिलसिलामा बस्ने सयौँ नेपालीका साथै दार्जिलिङ, आसाम र देहरादुनका प्रवासी नेपाली पनि भारतीय स्वतन्त्रता आन्दोलनमा लागेका थिए । 

भारत छोडो आन्दोलनले उग्र रूप लिन थालेपछि  अङ्ग्रेज शासक कडा रूपमा प्रस्तुत भई ठाउँठाउँमा कफ्र्यु लगाउन थाले । यसैबिच भारतीय समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया तथा सुरजनारायण सिंहहरू हजारीबाग जेलमा बन्दी अवस्थामा रहेकाले तिनीहरूलाई जेलबाट छुटाउन केही आन्दोलनकारीले योजना बनाउन थाले । त्यही योजना अनुसार जेलरहरूलाई झुक्याइ सर्वप्रथम सुरजनारायण सिंहलाई निकाल्न सफल भए ।

उहाँ निस्किसकेपछि नेपालको सप्तरी जिल्लाको कोइलाडी बरसाइन गाउँस्थित रामेश्वरप्रसाद सिंहको घरमा आई जयप्रकाश नारायण र डा. लोहियाहरूलाई जेलबाट भगाएर भूमिगत रूपमा नेपाल ल्याउने योजना सुनाए । यसमा रामेश्वरले जोखिम मोलेर भए पनि स्वीकृति दिनुभयो । तदनुसार सुरज सिंहले मुस्किलले हजारीबाग जेलबाट ती नेतालाई निकाली कैयौँ  दिनको कष्टकर जङ्गलको बाटो भएर रामेश्वरको घरमा ल्याई भूमिगत रूपमा राखे । यसमा सूर्य सिंहलाई सप्तरी सीमावर्ती भारतीय गाउँ नियोर निवासी क्रान्तिकारी अवध सिंहले सहयोग पु-याएका थिए । 

सन् १९४२ को आन्दोलन सुरु हुनेबित्तिकै पक्राउ पर्ने डरले भारतीय सीमा क्षेत्रका नेता कार्तिकप्रसाद सिंह, नित्यानन्द सिंहलगायत दर्जनौँ नेता कार्यकर्ता सप्तरी, बरसाइनस्थित रामेश्वरको घरमा आएर आश्रय लिई बसेका थिए । तिनीहरूलाई रामेश्वरले आतिथ्य प्रदान गरेका थिए । सरकारी कर्मचारीले थाहा नपाऊन् भनेर उनीहरूलाई सुरक्षा पनि प्रदान गरिएको थियो । 

केही महिना त्यहाँ बसेपछि सुरक्षालाई ख्याल गर्दै रामेश्वरले कोशीपारि आफ्नो मौजा (जिमिदारी) मा फुसको घर बनाई तिनीहरूलाई त्यहीँ सारे । त्यहाँ बस्दै जाँदा राणाशासकका स्थानीय बडाहाकिमले आफ्नो सुराकीबाट थाहा पाए । त्यसपछि सेनालाई पठाएर गिरफ्तार गरी हनुमाननगर जेलमा बन्दी बनाए । भारतीय नेताहरूलाई पक्रिएको थाहा पाएपछि सप्तरीवासी जुर्मुराउन थाले । अब तिनीहरूलाई जेलबाट कसरी निकाल्ने भनी आपसमा विमर्श गर्न थाले । उता सप्तरीकै पश्चिम भेग कुशहादेखि माथि चुरे पहाड फेद सुरुङ्गा जङ्गलमा भारतीय नेताहरूकै एउटा समूहले भूमिगत रूपमा बेतार (आकाशवाणी) जडान गरी लडाकुलाई तालिम दिन थालेका थिए । तिनीहरूले जयप्रकाश नारायण र डा. लोहियाकै निर्देशनमा तालिम शिविर सञ्चालन गरेका थिए, जसलाई रासन पानीको आपूर्ति स्थानीय सम्पन्न धनी, जमिनदारले गरेका थिए । तिनीहरूलाई पनि खबर पठाइयो । 

करिब ५० जनाको समूहमा रहेका आजाद दस्ताका लडाकु रातारात बरसाइनस्थित रामेश्वरको घरमा आइपुगे । त्यहाँ आपत्कालीन बैठक बोलाइयो । सयौँ सङ्ख्यामा रहेका कार्यकर्ताले हनुमाननगर जेलमा थुनिएका भारतीय नेतालाई छुटाउन जेलमा नै आक्रमण गर्नु पर्दछ भनी एकमत भए । स्थानीय जमिनदारको घरमा रहेका बन्दुक ल्याए । जेलमाथि कसरी आक्रमण गर्ने, कुन बाटो जाने, जेलको वरिपरि सेनाको पहरालाई कसरी सामना गर्ने ? जेल परिसर क्षेत्रको नक्सा बनाइयो ।

रातारात त्यहाँबाट आक्रमणकारी हनुमाननगर जेलनिर आइपुगे । पथप्रदर्शकका रूपमा रामेश्वरका भतिजा तारिणीप्रसाद सिंह थिए । उनकै निर्देशनमा आक्रमणकारीले पहिला बडाहाकिमको निवासमा बलिरहेको पेट्रोम्याक्समा गोली हानेर चकनाचुर पारे र धमाधम गोली बर्साउन थाले । बडाहाकिम सोमशमशेर खाटमुनि लुक्न गए । उता आक्रमणकारीको अर्को समूहले त्यहाँस्थित फुसको घरमा आगो लगाएदिए । सबै प्रहरी आगो निभाउनतिर लागे ।

यसै मौका छोपेर आक्रमणकारीले जेलको मुख्यद्वारमा उभिई पहरा दिइरहेको सन्तरीमाथि गोली हाने, ऊ घटनास्थलमै ठहरै भयो । त्यसपछि जेलको ढोका तोडी आक्रमणकारी भित्र पसेर जयप्रकाश नारायण, डा. राममनोहर लोहियालगायतका नेतालाई निकाली कोशीको नाउमा चढाएर सीमा कटाए । यसरी सप्तरीका युवाले भारतीय स्वतन्त्रता आन्दोलनका नेतालाई जेलबाट निकाल्न सफल भए । यस घटनामा राणाशासकले सप्तरीका करिब ५० जनामाथि आरोप लगाई केन्द्रीय कारागार काठमाडौँ चलान गरे । मुख्य आरोपितमा रामेश्वरप्रसाद सिंह, चतुरानन्द सिंह, जयमङ्गल सिंह, तारिणीप्रसाद सिंह, अब्दुल मियाँ, कृष्णवीर कामी, सीताराम अर्याल, जयनारायण, कामानन्द मिश्र, यमुनाप्रसाद सिंह, दलबहादुर प्रजापति आदि थिए । तीमध्ये कृष्णवीर कामीको जेलभित्रै मृत्यु भयो भने तारिणीप्रसाद सिंह सिकिस्त बिरामी भई जेलबाट निस्किनेबित्तिकै दिवङ्गत भए ।

भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेका तथा मृत्यु भएका र लडेकाहरूलाई सम्मान गर्नु साथै निवृत्तिभरण भत्ता दिइनु राजनीतिक इमान हुन्थ्यो । विगतमा पनि यी कुरा पटक पटक उठेका छन् । यसतर्फ नेपालस्थित भारतीय दूतावासले पहल गर्ला कि नगर्ला ? भारतीय स्वतन्त्रता आन्दोलनका लागि सहिद भएका तथा लडेका नेपाली सेनानीको उच्च मूल्याङ्कन गर्नु पर्छ । हनुमाननगर काण्डदेखि विभिन्न काण्डमा लागेका व्यक्तिको नामावली सङ्कलन गरी उचित राहत प्रदान गरिनु राम्रो हुने छ ।

   

Author

रामनारायण देव