• ३० जेठ २०८२, शुक्रबार

रलिङ गुम्बामा स्वास्थ्य शिविर : १६७ जना लाभान्वित

blog

सिमकोट गाउँपालिका २ र ३ मा पर्ने करिब ४ हजार मिटर अग्लो रलिङ गुम्बामा सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको शिविर । तस्बिर : नन्द सिंह

नन्द सिंह

रलिङ (हुम्ला), जेठ २९ गते । हुम्लाको सिमकोट गाउँपालिका–२ र ३ मा पर्ने रलिङ गुम्बामा सञ्चालन भएको स्वास्थ्य शिविरमा एक सय ६७ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा रलिङ गुम्बामा पर्ने रलिङ मेलालाई लक्षित गर्दै मेलामा रमाइलो हेर्न आएका मानिसहरूलाई औषधी उपचार गरिएको छ ।

दुई दिनसम्म सञ्चालन भएको रलिङ गुम्बामा उक्त शाखाले स्वास्थ्यकर्मी खटाइ स्वास्थ्य क्याम्प सञ्चालन गरिएको हो । मेलामा पूजा गर्ने भक्तालुहरूको ठुलो सङ्ख्यामा उपस्थिती हुने भएको भन्दै कोही कसैलाई स्वाथ्यमा असर परेको खण्डमा गाउँपालिका स्वास्थ्य शाखाले निःशुल्क शिविरको अभियान थालनी गरेको स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले बताउनुभयो ।

समुद्री सतहभन्दा करिब ४ हजार मिटर उचाइमा रहेको रलिङ गुम्बामा मेला लाग्ने भएकाले दर्शनार्थीमा लेक लाग्ने समस्या बढी हुने भन्दै सो क्याम्प सञ्चालन गरेको संयोजक भण्डारीको भनाइ छ ।

शिविरका क्रममा उपचारका सबै सेवा प्रदान गरिएको थियो । जसमा ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने लगायतको उपचार गरिएको थियो भने सामान्य रुपमा भएका बिरामीहरूको हातहातमा औषधी समेत वितरण गरिएको थियो ।

मेलाको पहिलोदिन १ सय ६७ जनालाई सामान्य चेक जाँचका साथै औषधी वितरण गरेको ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले जानकारी दिनुभयो । उक्त क्याम्प पहिलोदिन रलिङ गुम्बामा र दोस्रो दिन सोही वडाको तोग्रामा सञ्चालन भएको इन्जार्ज बोहराले बताउनुभयो । शिविरमा चार जना स्वास्थ्यकर्मी खटिएका थिए ।