विजयकुमार साह
ढल्केबर, जेठ २८ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र गोरखापत्र संस्थानका उच्च पदाधिकारीबिच बुधवार जनकपुरधामस्थित मुख्यमन्त्री निवासमा भेटघाट भएको छ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, द राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्र अनलाइनका सम्पादक लक्की चौधरी, निमित्त कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रसहितको टोलीले मुख्यमन्त्री सिंहसँग भेट गर्नुभएको हो ।
भेटका क्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेशमा रहेका सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रचार प्रसारमा गोरखापत्र संस्थानले सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले त्रेतायुगकालीन सम्पदादेखि लिएर राजा जनकले पूजाआजा गरेको शिव मन्दिरजस्ता थुप्रै महत्त्वपूर्ण स्थलहरूको यथेष्ट प्रचार नभएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “जनकपुरको जानकी मन्दिर त प्रसिद्ध छ, तर त्यस्ता अरू धेरै ऐतिहासिक स्थलहरू मदेसमा छन्, जसको जानकारी आम जनसमुदायलाई छैन । यस्ता सम्पदाको उजागर गर्न गोरखापत्रले विशेष ध्यान दिनुपर्छ ।”
उहाँले गोरखापत्र दैनिकमा मैथिली, भोजपुरी, बज्जिका लगायत स्थानीय भाषाहरूलाई स्थान दिइएकोप्रति प्रशंसा गर्दै गोरखापत्रले मधेस प्रदेशको विविधतालाई स्वीकार गरेको र समावेशी पत्रिकाको उदाहरण बनेको बताउनुभयो ।
भेटका अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले संस्थानद्वारा प्रकाशित ’युग साक्षी’ स्मारिका र गोरखापत्र दैनिकको पहिलो अङ्क मुख्यमन्त्री सिंहलाई हस्तान्तरण गर्नुभयो । सो क्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भिमसेन थपलिया, गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक लक्की चौधरी, गोरखापत्रका निमित्त कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्र लगायतको सहभागिता थियो ।
यसैबीच, अध्यक्ष सुवेदीसहित गोरखापत्र संस्थानका पदाधिकारीले जनकपुरधामस्थित गोरखापत्र संस्थानको मधेस प्रदेश कार्यालयको समेत निरीक्षण गर्नुभएको छ ।