• ३० जेठ २०८२, शुक्रबार

बौद्धिक पलायन सङ्कट

blog

बौद्धिक भन्नाले विशेष योग्यता र क्षमता भएका व्यक्ति भन्ने मानिन्छ । देश विकासका लागि यस्तो जनशक्ति आवश्यक हुन्छ । विशेष योग्यता, सिप र दक्षता भएका व्यक्तिको अभाव हुन नदिन राज्यले यस प्रकारका जनशक्ति उत्पादन गर्न विभिन्न विद्यालय, महाविद्यालय, विश्वविद्यालय र प्रशिक्षण प्रतिष्ठान स्थापना गरेको हुन्छ । बौद्धिक जनशक्ति उत्पादन गर्न सरकारले धेरै लगानी पनि गर्छ । उत्पादित जनशक्तिलाई उपयुक्त किसिमले व्यवस्थापन गर्न नसकेमा त्यस्ता जनशक्ति रोजगारीका लागि विदेश पलायन हुने गर्छन्, यसलाई बौद्धिक पलायन भनिन्छ ।

शिक्षित, दक्ष र प्रतिभाशाली व्यक्ति उत्पादन गर्न लामो समय र धेरै लागत लाग्ने हुन्छ । यी व्यक्तिमा खास गरेर डाक्टर, इन्जिनियर, वैज्ञानिक, प्राध्यापक आदि पर्छन् । यस्ता व्यक्तिले स्वदेशमा कुनै रोजगारी पाउन सकेनन् भने रोजगारीकै लागि विदेश पलायन हुन्छन् । विदेश गएर छोटो अवधिमा उनीहरूले राम्रो आयआर्जन गर्न सक्छन् । यद्यपि राज्यलाई भने ठुलो धक्का पुगेको हुन्छ । राज्यले ठुलो धनराशि खर्च गरेर तयार गरेको बौद्धिक जनशक्ति बाह्य मुलुकले बिनालगानी प्राप्त गर्छन् । थोरै पारिश्रमिकमा दक्ष जनशक्तिबाट धेरै फाइदा लिएका पनि हुन्छन् । अहिले नेपालमा यही भइरहेको छ । 

जनशक्ति विकासका लागि सरकारले ठुलो रकम लगानी गरेको छ । निजी तहबाट पनि व्यक्ति अथवा परिवारले धेरै लगानी गरेको छ । २० प्रतिशतभन्दा बढी गरिबी भएको देशमा यसरी लगानी भएको रकमबाट राज्यले कुनै फाइदा लिन नसक्नु भनेको ठुलो नोक्सानी हो । विशेष किसिमले उत्पादन गरिएका जनशक्ति अन्य मुलुकले उपयोग गर्न पाउनु र आफ्नो देश भने टुलुटुलु हेर्नु भनेको सबैका लागि चिन्ताको विषय हो । नेपालमा बौद्धिक पलायन हुनुमा कुनै एक कारण मात्र जिम्मेवार देखिँदैन, यसमा धेरै कारण छन् । नेपाल अति कम विकसित देश हो । शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, विद्युत्, पूर्वाधार विकासनिर्माण जस्ता धेरै क्षेत्रमा विकास हुन सकेको छैन । त्यस कारण आवधिक योजना वा प्रत्येक वर्ष ल्याइने वार्षिक बजेट तथा कार्यक्रम होस् उही र उस्तै किसिमका नीति तथा कार्यक्रम आउने गरेका छन् ।

मानिस विदेश पलायन हुन चाहँदैन । जसलाई पनि आफ्नै देश प्यारो हुन्छ । विदेशमा राम्रो पारिश्रमिक हुन सक्छ । केही अन्य सुविधा पनि होलान् तर आफ्नो देशमा जति रमाउन सकिन्छ विदेशमा निश्चय नै रमाउन सकिँदैन । यस्ता कुरा बुझ्दाबुझ्दै पनि बाध्यताले मानिस विदेश पलायन हुन्छ । स्वदेशमा रोजगारीका अवसर कम भएकैले मानिस बिदेसिन्छ । स्वरोजगारको वातावरण र राज्यका तर्फबाट पनि रोजगारी उपलब्ध नभएपछि पलायन हुनुलाई अन्यथा लिन सकिँदैन । धेरै लगानी गरेको जनशक्तिले थोरै तलबमा काम गर्न पनि चाहँदैन किनभने उसले लामो समय खर्चेको र धेरै लगानी गरेको हुन्छ । जसले पनि समय र लगानीको प्रतिफलको अपेक्षा गरेकै हुन्छ । 

नेपालमा ब्रेन ड्रेनको ठुलो समस्या देखिएको छ । बौद्धिक जगत् मात्र होइन साधारण व्यक्तिको पनि ठुलो जमात विदेश पलायन भएको छ । करिब ७० लाखको हाराहारीमा वैदेशिक रोजगारीमा गएको अनुमान छ । यति ठुलो जनशक्ति देशबाट बाहिरिनुलाई कदापि राम्रो मान्न सकिन्न । यो जनशक्तिलाई स्वदेशमा खपत गर्न सकिएको भए देशको आर्थिक स्वरूप नै अर्कै हुन्थ्यो । विदेश पलायन भएको जनशक्तिले पठाएको पैसाले उनीहरूको घरपरिवार धानिएको छ र देशको अर्थतन्त्रलाई समेत ठुलो टेवा पुगेको छ । करिब ६१ खर्बको आर्थिक संरचना र औसत १७ खर्बको वार्षिक बजेट भएको मुलुकमा १८ खर्बको हाराहारीमा विप्रेषणबाट विदेशी मुद्रा स्वदेश भित्रिनुलाई राम्रै मान्नु पर्छ ।

देशमा गणतन्त्र आएपछि राजनीतिक स्थिरता देखिए पनि सरकारको अस्थिरता भने हट्न सकेको छैन । कुनै पनि दलको एकलौटी सरकार बन्न नसकेकाले पटक पटक सरकार फेरबदल हुँदै आएको छ । छिटो छिटो सरकार गठन र विघटन हुने कार्यले कुनै पनि राष्ट्रिय नीतिले स्थायित्व लिन सकिरहेका छैनन् । कुनै व्यवसाय सञ्चालन गरेर स्वदेशमा नै केही गर्छु भन्नेका लागि पनि विश्वस्त हुने आधार देखिँदैन । यस कारण पनि प्रतिभाशाली एवं बौद्धिक व्यक्ति विदेश पलायन हुनुपर्ने बाध्यता छ । बौद्धिक व्यक्तित्वले जहिले पनि सकारात्मक परिवर्तन खोजेको हुन्छ । स्वदेशमा नै केही गर्छु भन्दा पनि अनुकूल वातावरण बन्न नसकेपछि विदेश गएर भए पनि केही गर्ने विचारले पलायनको बाटो रोज्छ । युवापुस्ता, जो अध्ययन अनुसन्धानसम्बन्धी कार्यलाई बढी मन पराउँछ । अनुसन्धानका क्षेत्रले कम प्राथमिकता पाएकाले यो कार्यमा पनि युवालाई त्यति सहज वातावरण देखिँदैन । यसकारणले पनि ऊर्जाशील र बौद्धिक जमातको विदेश पलायनले निरन्तरता पाइरहेको हो । 

मानिस स्वभावैले आफ्नो जीवनस्तर उन्नत बनाउन चाहन्छ । यसका लागि उसलाई स्रोतसाधनको आवश्यकता पर्छ । नेपाल जस्तो देशमा स्रोतसाधन सीमित र अपेक्षा असीमित हुने हुँदा यी दुई अवयवबिच सामञ्जस्यता कायम गर्न सकिएको छैन । जसले गर्दा साधन र अपेक्षाको दुरी फराकिलो हुने गरेको छ । युवा तथा बौद्धिक पुस्तालाई कुनै कार्य सञ्चालन गर्न वित्तीय तथा भौतिक साधनको अभाव भएकाले यसैको प्राप्तिका लागि विदेश पलायन भएको देखिन्छ ।

विकसित मुलुकमा उन्नत जीवनशैली बिताउने अवसर मिल्छन् । यसको देखासिकीले पनि बौद्धिक जमातलाई प्रेरणा दिएको छ । युवा वर्गले धेरै कुरा सिकेको छ, जानेको छ, बुझेको छ र अध्ययन गरेको छ तर पनि आफूले प्राप्त गरेको ज्ञानलाई प्रयोगमा ल्याउन नपाएकाले ऊ विदेश पलायन हुन्छ । स्वदेशमा यी कुराको कमी भएकाले अवसरको खोजीमा विभिन्न देशमा उच्च जीवनयापनको खोजीमा गएको हुन्छ ।

विज्ञान र प्रविधिको विकासले गर्दा विश्व खुम्चिँदै गएको छ । संसारको एउटा कुनामा भएको घटना क्षणभरमा नै संसारभर फैलिएको हुन्छ । यस्ता घटनाबाट बौद्धिक जमात पूर्ण परिचित हुने भएकाले त्यसतर्फ आकर्षित छ । यस किसिमका अनेक प्रगतिले बौद्धिक जमातलाई आकर्षण गरेको हुन्छ, जसलाई हामी ‘पुल फ्याक्टर’ भन्छौँ । अर्कोतर्फ स्वदेशमा बौद्धिक जमातलाई आकर्षण गर्न सक्ने आधारको कमी भएकाले विदेश पलायन हुने विषयले प्रश्रय पाइरहेको हो । यसलाई ‘पुस फ्याक्टर’ भन्न सकिन्छ । यसरी स्वदेशमा विकर्षण र विदेशमा आकर्षण बढी हुने भएकाले पनि बौद्धिक जमात पलायन हुँदै गएको छ ।

बौद्धिक पलायनले मूलतः नेपाल जस्ता अल्पविकसित देशलाई नराम्रो असर पार्छ । ठुलो सङ्ख्यामा देशभित्रको योग्य जनशक्ति विदेश पलायन भएपछि राज्यका विभिन्न क्षेत्र अविकसित हुँदै जान्छन् । यस्तो जनशक्ति अभावले देशको राजनीति, आर्थिक, सामाजिक विकासमा समस्या उत्पन्न हुन्छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणलगायतका क्षेत्र कमजोर हुँदै जान्छन् । अन्ततः विकासले भन्दा अविकासले देशलाई बढी असर पारेको हुन्छ ।

बौद्धिक पलायन सधैँ नकारात्मक मात्र हुन्छ भन्न सकिँदैन । यसका सकारात्मक पक्ष पनि हुन्छन् । यही बाहिरिएको जनशक्ति स्वदेश फर्किएपछि विदेशमा प्राप्त गरेको ज्ञान, सिप, अनुभव, प्रविधि आदि स्वदेशमा प्रयोग हुन सक्यो भने देश विकासमा ठुलो परिवर्तन ल्याउन सकिन्छ । कुनै पनि देश सबै थोकमा आत्मनिर्भर हुन सक्दैन । नेपाल आर्थिक दृष्टिकोणबाट कमजोर भइरहेको अवस्थामा विदेश पलायन भएको जनशक्तिले पठाएको रकमले देशको अर्थतन्त्रलाई केही हदसम्म टेवा पु¥याएको छ । विदेशमा बसेकाले अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न सक्छन् । जसबाट व्यापार, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा स्वदेशमा लगानी भित्र्याउन सक्छन् । अन्तर्राष्ट्रिय सम्बन्धले गर्दा स्वदेशभित्र बाह्य लगानी भित्रिन सक्ने सम्भावना पनि हुन्छ । बौद्धिक पलायनका फाइदाभन्दा पनि यसका नकारात्मक पक्ष बढी गम्भीर हुन्छन् । देशमा यस्तो जनशक्ति अभाव हुन जान्छ । जस कारणबाट सेवा प्रवाह तथा विकासनिर्माणका क्षेत्रमा असर पर्छ ।

हरेक देशलाई बौद्धिक पलायनले विकासमा अवरोध निम्त्याएको हुन्छ । शिक्षित, दक्ष र प्रतिभाशाली जनशक्ति उत्पादन गर्न राज्यका तर्फबाट ठुलो लगानी भएको हुन्छ । त्यस्तो जनशक्ति विदेश पलायन हुँदा राज्यलाई ठुलो घाटा हुन्छ । जुन घाटा पूर्ति गर्न राज्यलाई लामो समय र धेरै लगानी लाग्न सक्छ । त्यस कारण स्वदेशमा उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराएर बढीभन्दा बढी लाभ लिन सक्नु पर्छ ।

बौद्धिक जनशक्ति विदेश पलायनको विषय नेपालका लागि ठुलो समस्या भएको छ । एसइई तथा प्लस टु सकिनासाथ शिक्षित जनशक्ति बाहिरिने गरेको छ । यसरी नै उच्च शिक्षा हासिल गरेकाको सङ्ख्या पनि बढ्दै गएको छ । साधारण शिक्षा हासिल गरेका पनि वैदेशिक रोजगारीका लागि गइरहेका छन् । यस प्रकारले शिक्षित, अर्धशिक्षित, दक्ष, अर्धदक्ष, अदक्ष सबै प्रकारको जनशक्ति विदेश पलायन हुँदा राज्यले ठुलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ । तत्कालका लागि बौद्धिक पलायनबाट राज्यलाई केही लाभ भए पनि दीर्घकालीन रूपमा भने नोक्सानी नै हुन्छ । त्यसकारण पनि बौद्धिक पलायन नियन्त्रण गर्न अति आवश्यक छ ।