• ८ साउन २०८१, मङ्गलबार

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य

blog

काठमाडौँ, भदौ १ गते । सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०७९/८० मा मात्रै ४५ महिलासहित एक हजार २०८ युवाले ज्यान गुमाएका छन् । 

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य रहेको छ । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्य् भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको सङ्ख्या हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउने धेरै रहेका छन् । 

बोर्डका अनुसार यस अवधिमा एक हजार २०८ मृतक श्रमिकका परिवारलाई आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपियाँ प्रदान गरिएको छ । पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्युकुण्डमा होमिन पुगेका हुन् । तथ्याङ्क अनुसार औसतमा दैनिक चार वटा शव काठको बन्द बाकसमा विदेशबाट नेपालको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका छन् । 

बोर्डका अनुसार आव २०६५/६६ साउनदेखि आव २०७९/८० सम्म १२ हजार १४० जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या बोर्डको सचिवालयबाट आर्थिक सहायता रकम लिनेको मात्रै हो । यस अवधिमा मलेसियामा सबैभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । आव २०७८/७९ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेको सङ्ख्या एक हजार ४८९ जना रहेको बोर्डले जनाएको छ । आव २०७८/७९ को तुलनामा २०८९/८० मा विदेशमा मृत्यु हुनेको सङ्ख्या २८१ जना कम छ । अघिल्ला वर्ष कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या गएको वर्षभन्दा बढी भएको बोर्डका निर्देशक राजन पौडेलले जानकारी दिनुभयो । 

आव २०७६/७७ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ६५६ श्रमिकका आफन्तलाई बोर्डबाट सात लाख रुपियाँको दरले आर्थिक सहायता दिएकामा सो सङ्ख्या आव २०७७/७८ मा वृद्धि भएर एक हजार २४२ पुगेको थियो । 

वैदेशिक रोजगारीका क्रममा अधिकांशको मृत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा विविध कारणले मृत्युवरण गर्ने गरेका छन् । मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु, आत्महत्याको ठुलो सङ्ख्या छ । वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र मृत्यु भएका श्रमिकका परिवारले प्रतिव्यक्ति सात लाखका दरले आर्थिक सहायता रकम पाउँदै आएका छन् । निर्देशक पौडेलले आउँदो वर्षदेखि आर्थिक सहायताबापतको रकम बढाएर १० लाख पु-याउने विषयमा छलफल भइरहेको तर टुङ्गो भने लागिनसकेको जानकारी दिनुभयो । 

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारमा मृत्यु हुनुको प्रमुख कारण सामान्य सिप र सूचनाबिना नै विदेश जानु हो भन्नुभयो । उहाँले नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये ७६ प्रतिशत अदक्ष युवा विदेश जाने गरेको र त्यो सङ्ख्या बढी जोखिममा पर्ने गरेको बताउनुभयो । 

रोजगारीमा गएका ३८९ जना अङ्गभङ्ग भई फर्किए

आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीको सिलसिलामा गएका ३८९ जना श्रमिक अङ्गभङ्ग वा गम्भीर बिरामी भएर स्वदेश फर्किएका छन् । यसरी स्वदेश फर्किएका श्रमिकलाई बोर्डले जम्मा नौ करोड ९७ लाख आठ हजार रुपियाँ आर्थिक सहायता दिएको छ । बोर्डले बिरामी वा अङ्गभङ्ग भएर फर्किएका श्रमिकलाई अवस्था हेरेर विशेषज्ञ चिकित्सकको सिफारिसमा अधिकतम सात लाख रुपियाँ आर्थिक सहायता दिने गरेको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकका दुई हजार ९५६ जना छोराछोरीलाई छात्रवृत्ति सहायतासमेत प्रदान गरेको छ ।