काठमाडौं, साउन ३२ गते । डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा १४ हजार ३५७ जनामा पुष्टि भएको छ । १० जना सङ्क्रमितको मृत्यु भएको जानकारी डा. मरासिनीले दिनुभयो ।
डा.मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा १० हजार ८१३ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी, बागमती प्रदेशमा दुई हजार ९, गण्डकी प्रदेशमा ६०३, सुदूरपश्चिम प्रदेशमा ४५१, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ कर्णाली प्रदेशमा ३९ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८९ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् ।
सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा सात हजार ४४९, मोरङमा एक हजार ६७६, धादिङमा एक हजार ३२०, कास्कीमा २४९, दार्चुलामा १९४, झापामा ९१३, काठमाडौंमा १९९, सङ्खुवासभामा १७६, तनहुँमा १३० जनामा डेंगु पुष्टि भएको छ ।
डेंगु के हो ?
सरुवा रोग विशेषज्ञ डा. विमल चालिसेका अनुसार डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेंगु भाइरसको कारणले यो रोग लाग्ने गर्छ । चालिसेका अनुसार डेंगु भाइरसका चार प्रकारका सेरोटाइप हुन्छन् । एक पटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवनभर त्यसै सेरोटाइपबाट पुनः डेंगु रोग नलाग्ने चालिसे बताउनुहुन्छ । तर अन्य सेरोटाइपको भाइरस बाट डेंगु लाग्न सक्छ जुन पहिलो स्वरूपको तुलनामा बढी खतरनाक हुने डा. चालिसेको भनाइ छ । 
डेंगु रोगले रोग प्रतिरोधात्मक क्षमता कम भएका र दीर्घरोगी, बालबालिका, गर्भवती महिलालाई जोखिममा पार्ने भएकाले विशेष ध्यान दिन चिकित्सकको आग्रह छ । एक्कासि उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्ने, डाढ, जोर्नी तथा मांसपेशीहरु दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने यसका प्रमुख लक्षण हुन् ।
यसका साथै लगातार बान्ता हुने, बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने बेहोस हुने आदि जटिल लक्षण देखिने डा. चालिसेको भनाइ छ ।
दुःखाइ कम गर्ने औषधि नखान आग्रह ?
डेंगु भाइरसबाट हुने भएकाले यसको खास उपचार छैन । यो भाइरस एक दुई हप्तामा आफैँ निको हुन्छ । उच्च ज्वरो कम गर्न प्यारासिटामोल खाने तर दुःखाइ कम गर्ने औषधि नखान चिकित्सकको सुझाव छ ।
पानी, झोलिलो तथा पोसिलो खानेकुरा प्रशस्त मात्रामा खाने, पूर्णरूपमा आराम गर्ने चिकित्सकको सुझाव छ । डेंगुका जटिल लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था लैजान डा. चालिसेले सुझाव दिनुभयो ।
डेंगु भाइरसबाट बच्ने उपाय ?
लामखुट्टेको वासस्थान सफा गर्नु नै डेंगु नियन्त्रणको प्रमुख कारण भएको विज्ञ बताउँछन् । डा. चालिसेका अनुसार बच्ने उपाय डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, बिहान दिउँसो राति जुनसुकै बेला झुल लगाएर सुत्ने, पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउने, शरीरका खुला भागमा लामखुट्टे धपाउने विधि अपनाउन चिकित्सकको सुझाव छ । 
लामखुट्टेको वृद्धि विकास रोक्ने तरिका ?
घर वरिपरि, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने सफा राख्ने, पानी जमिहालेमा हप्तामा दुई पटक जमेको पानी फाल्ने, दैनिक प्रयोजनका लागि राखिएको पानी छोपेर राख्ने साथै कुलरमा रहेको पानी हप्तामा दुई पटक सफा गर्ने, गमला र गमला राखेको भाँडामा जमेको पानी हप्तामा दुई पटक फालेर प्लेट सफा गर्ने, भाँडाकुँडामा पानी जम्न नदिने, भाँडा घोप्टाएर राख्ने, घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने, काम नलाग्ने भाँडाकुँडा, सिसी बोतल, प्लास्टिकका सामग्री, टायर आदिलाई पानी जम्न नमिल्ने गरी विसर्जन गर्न विज्ञको सुझाव छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                