हरि कृष्ण ऐडी
मुगु, साउन ३२ गते । नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि नयाँ नियम लागू गर्दा कर्णालीको रारा विमानस्थलमा उडान प्रभावित हुँदै आएको छ ।
प्राधिकरणले विमानस्थलको उडान तालिका अनुसार मात्र उडान भर्नुपर्ने नियम लागू भएसँगै दैनिक उडान प्रभावित हुँदै आएका हुन् ।
रारा विमानस्थलका नागरिक उड्डयन प्राधिकरणका कार्यालय प्रमुख केशव भट्टराईले बिहान बाक्लो कुहिरो लाग्ने, पानी पर्ने र बादल लाग्ने भएका कारण दुई सातायता दैनिक हवाई सेवा अवरुद्ध हुँदै आएको बताउनुभयो । उहाँका अनुसार प्राधिकरणले हवाई उडानका लागि नयाँ नियम लागू गरेपछि उडान प्रभावित हुने गरेको बताउँदै उडान नहुने चिन्ता थपिएको बताउनुभयो ।
प्राधिकरणले साउन १४ गते बाट आन्तरिक हवाई उडानका लागि उडान तालिकाको समयबाहेक अन्य समयमा उडान भर्न नपाउने नियम लागू गरेको छ । उहाँले बर्खाको मौसममा बिहान ११÷१२ बजेसम्म मौसम बिग्रिने र १२ बजेपछि मौसममा सुधार आउने भए तापनि हवाई उडानमा नयाँ नियम लागू भएअनुसार मुगुको रारा, ताल्चा विमानस्थलका लागि १२ः३० बजेपछि उडान भर्न नपाउने भएकै कारण समस्या देखिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले हवाई सुरक्षाका लागि नयाँ नियम राम्रो भए पनि हिमाली जिल्लाका लागि यो नियम व्यावहारिक र लाभदायक नभएको उहाँले बताउनुभयो । दुर्गम जिल्लाको बाध्यता र अवस्था नबुझेर नयाँ नितिनियमको कार्यतालिकामा लागू गर्दा मुगाली बासिन्दा मर्कामा परेको उहाँको भनाइ छ ।
यता मुगमकार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी हिमा बुढाले आफ्नो नाकभित्र मासु पलाएर सास फेर्न गाह्रो भएपछि उपचार गर्नलाई जिल्ला बाहिर जानका लागि ताल्चा विमानस्थलमा दुई सातादेखि जहाज कुरेर बसिरहनुभएको छ ।
‘‘उपचारका लागि गाउँपालिकाबाट २० दिनलाई मात्र बिदा दिएको छु । ताल्चा विमानस्थलमै जहाज कुर्दै बिदा सकिने भयो । दुर्गमका नागरिकका लागि प्राधिकरणले ल्याएको नयाँ नीतिले ताल्चा विमानस्थलमा मलगायत अन्य बिरामीले समयमै उपचार नपाउँदा स्वास्थ्यमा झन् समस्या आएको छ ।,’’ उहाँले गुनासो गर्नुभयो ।
नागरिक उड्डयन प्राधिकरणले गत साउन १४ गतेबाट देशका ३० वटा विमानस्थलमा दिउँसो १२ बजेपछि उडान गर्न रोक लगाउने निर्णय गरेपछि दुर्गम जिल्लामा रहेका यात्रु मर्कामा परेका छन् । वर्षातका समयमा हवाई दुर्घटना हुनसक्ने भन्दै प्राधिकरणले उक्त निर्णय गरेको थियो । सो निर्णयले नेपालगञ्जबाट दैनिक उडान हुने डोल्पा, सिमिकोट, रारा र बाजुरा जिल्लालगायत अन्य पहाडी जिल्लाका यात्रु मारमा परेका हुन् ।