• ६ जेठ २०८१, आइतबार

घट्यो मकै उत्पादन

blog

सर्लाही समाचारदाता

सर्लाही, साउन ३२ गते । खडेरीका कारण यो वर्ष मकै उत्पादन घट्दा सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् । मकैलाई पानी आवश्यक पर्ने जेठ र असार महिना पूरै खडेरी लाग्दा मकै उत्पादनमा व्यापक कमी आएको हो । उत्तरी भेगका किसानले अहिले धमाधम पाकेको मकै भित्र्याइरहेका छन् । यहाँको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगमा आकाशे वर्षाको भरमा सँठिया मकै रोप्ने गरिएको छ । खडेरीले मकैमा पुड्का र थोते घोगा लागेका छन् । 

चुरे भेगको मुख्य बाली नै मकै हो । ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका किसान धनबहादुर भुजेलले यो वर्ष खडेरीका कारण मकै बालीबाट लागतसमेत नउठेको गुनासो गर्नुभयो । १० बोरा मकै फल्ने बारीमा यो वर्ष दुई बोरा मकै पनि नआएको उहाँले बताउनुभयो । “खडेरीले मकैको बोट नै सुकेको थियो, धन्न असारतिर आएर परेको एक झर पानीले जसोतसो बोट जोगियो,” भुजेलले भन्नुभयो, “लामो खडेरी खेप्नुपरेकाले मकैमा घोगा लाग्नै पाएन, लागेको घोगा पनि पुड्का र थोते भए ।”

मकै उत्पादन राम्रो हुने उत्तरी भेगका अधिकांश किसानले मकै बेचेरै धान खरिद गर्ने गर्छन् तर यो वर्ष मकै नै नफलेका कारण किसान मारमा परेका छन् । लालबन्दी नगरपालिका–१५, तीनतलेका किसान वीरसिंह घिसिङले मकै उत्पादन राम्रो नहुँदा खाद्यान्नकै अभाव हुने चिन्ता रहेको गुनासो गर्नुभयो । “खडेरीले मकै फल्दै फलेन, हाम्रो त मुख्य खाद्यान्न बाली नै यही हो, यो साल के खाने होला भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो । 

लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले यो वर्ष मकै खेती गर्ने किसान खडेरी र फौजी किरा दुवैबाट अत्यन्त प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार तीन वर्षदेखि फौजी किराको प्रकोप खेपेका किसानले यो वर्ष खडेरीको मारसमेत खेप्नुपरेको हो ।