• १३ मंसिर २०८१, बिहिबार

अटो दुर्घटनामा महिलाको मृत्यु

blog

प्रतीक शर्मा ‘इच्छुक’

सल्यान, साउन ३१ ग्ते । एक अटो दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–५ लामिखोलास्थित भित्री कच्ची सडक खण्डमा रा १ ह ३९३० नम्बरको अटो आज साढे ४ बजेतिर दुर्घटना हुँदा छत्रेस्वरी गाउँपालिका–४ आकाशे बस्ने वर्ष ५१ की ठगी कामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले त्रिवेणी गाउँपालिकाको लुहाम बजारबाट वडा ५ को ढोडचौर जाँदैगरेको अटो दुर्घटना हुँदा उहाँको घटनास्थलमै मृत्यु भएको बताउनुभयो ।

उहाँका अनुसार घाइते भएका दुई जनालाई उपचारका लागि त्रिवेणी गाउँपालिकाको लुहाम लगिएको छ । उकालो चढ्न नसकी ब्याक भएर अटो दुर्घटनामा परेको थियो । अटोमा चार जना सवार थिए ।

सडकदेखि अटो १५० मिटर तल खसेको थियो । अटो चालक त्रिवेणी गाउँपालिका –५ लामिखोला बस्ने वर्ष २८ का रामबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच त्रिवेणी १ काभ्रा सल्लेरीमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । स्थानीय महाभारत सामुदायिक वनमा शव देखेपछि स्थानीयले काभ्रा प्रहरीलाई जानकारी गराएका थिए । 

रामबजारदेखि ७ किलोमिटर पूर्व–दक्षिणमा शव भेटिएको प्रहरीको भनाइ छ ।  प्रहरीलाई जानकारी आएपछि थप अनुसन्धानका लागि लुहामबाट प्रहरी खटिएको जिल्ला प्रहरीका कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिनुभयो ।