• २० असोज २०८१, आइतबार

श्रीलङ्का टापुमा कटान नरोकिएपछि बिजुलीको पोल सारियो

blog

बाबुराम कार्की  

वराहक्षेत्र (सुनसरी), साउन ३१ गते । सुनसरीको श्रीलङ्का टापुमा कोशीको कटान बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोल सुरक्षित स्थानमा सारेकाे छ । टापुमा कटान हुने क्रम नरोकिएपछि कोशीको कटान क्षेत्रमा रहेको बिजुलीको पोल सारिएको हो । 

नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रले आज १४ वटा बिजुलीको पोल लगायत त्यसमा लगाइएको तार र ट्रान्समिटर सारेको वितरण केन्द्रका कर्मचारी (विद्युत इलेक्ट्रिसियन) खुजराज घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार सप्तकोशी नदीभित्र रहेको तीन वटा हाइटेन्सन लाइनका टावरहरू जोखिममा छन् । एउटा हाइटेन्सन टावर पानीले कटान गरी लडाइसकेको र अरू दुई वटा पोलको पनि बेसमा कटान गरेको छ । कटानमा परेका टावरहरू ढल्केबर, भोक्राहा विद्युत सब-स्टेसनमा ल्याउने बिजुलीका टावर हुन् । 

पूर्वी पहाडी जिल्लाहरूमा केही दिनअघि लगातार परेको पानीका कारण कोशीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने टापुमा कटान गर्ने क्रम रोकिएको छैन । नदीमा पानीको बहाव घटे पनि कटान भने भइरहेकै छ । कोशीमा पानी घटेसँगै कटानले उग्र रूप लिएको स्थानीय अनिल चन्द्रवंशीले बताउनुभयो । चन्द्रवंशीले भन्नुभयो, “कोशीको पानी घट्दा कटान बढी हुन्छ । पानीको रेत कम पानीमा हुने हुँदा कटान बढी हुने गरेको छ । गरैयाको अजुवा टोलको अगाडि कोशी नदीले डेढ किलोमिटर कटान गरिसकेको छ ।” 

चार दशकदेखि बिजुलीको पहुँचभन्दा टाढा रहेका टापुबासीले दुई वर्ष अगाडि श्रीलङ्का टापुमा बिजुली पुगेपछि बिजुलीको प्रयोग गर्दै आएका थिए । पूर्व अर्थमन्त्री तथा सुनसरी क्षेत्र नम्बर चारका सङ्घीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको पालामा टापुमा बिजुली पुगेको थियो । टापुमा बसोबास गर्दै आएका नकुल चन्द्रवंशी भन्नुहुन्छ, “टापुबासीलाई यो वर्षमा जहिल्यै त्रास भइरहनेभयो । हरेक वर्ष आउने वर्षाको चार महिना कहिले कट्छ झैँ हुन्छ ।”   

कटान भएसँगै श्रीलङ्का टापु क्षेत्रका दर्जनभन्दा बढी घरहरू जोखिममा पर्दै गएको स्थानीय सन्तोष मण्डलले बताउनुभयो । श्रीलङ्का टापुमा असारदेखि नै कोशीले सामान्य कटान गर्दै आएको थियो। कोशीले पश्चिमतर्फको भूभाग कटान गर्दा श्रीलङ्का टापु क्षेत्रका ७ सय घरपरिवार बाढीको जोखिममा परेका छन् ।

सप्तकोशीमा आज बुधबार दिउँसो एक लाख ८१ हजार ३ सय ५० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजको २२ वटा ढोका खोलिएको कन्ट्रोलरुमका कर्मचारी अमित यादवले जानकारी दिनुभयो । 

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ बेलकाको २ र ३ वडा टापुमा पर्छ । टापु १४ किलोमिटर लम्बाइ र ५ किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको टापुमा ७ हजार बढीको सङ्ख्यामा मानिसहरूको बसोबास रहेको वराहक्षेत्र नगरपालिका वडा नम्बर छ का वडाध्यक्ष उद्धव पोख्रेलले बताउनुभयो ।