• ११ मंसिर २०८१, मङ्गलबार

एक वर्षमा बैङ्किङ कसुरका ३०५ मुद्दा

blog

जिल्ला प्रहरी कार्यालय बाँके । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन ३१ गते । बाँके प्रहरी एकाइमा पछिल्लो समय बैङ्किङ कसुरका उजुरीहरु बढ्दो क्रममा छ । विभिन्न बैङ्कको चेक दिए पनि निर्धारित समयमा नसाटिएको दावीसहित उजुरी पर्ने क्रम बढिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक डाङ्गीले भन्नुभयो, ‘जिल्ला प्रहरी र मातहतका प्रहरी कार्यालयमा दिनानुदिन यस खालका उजुरी आउनेगरेका छन् ।’ डिएसपी डाङ्गीका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा ३०५ वटा बैङ्किङ कसुरका मुद्दा दर्ता भएका छन् । 

आर्थिक वर्ष २०७८–७९ मा यस खालका ७५ मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष २०७७–७८ मा भने यसखालका १४ वटा मुद्दा मात्रै दर्ता भएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय चेकमार्फत कारोबार हुने तर निर्धारित समयमा चेक नसाटिएको भन्दै पीडितहरु उजुरी लिएर प्रहरी कार्यालयमा पुग्नेगरेका छन् । 

पीडितका अनुसार प्रहरीमा निवेदन परेपछि प्रारम्भिक चरणमा छलफलको माध्यमबाट टुङ्गोमा पुग्ने गरिएको छ । चेक दिएका व्यक्तिहरु सम्पर्कमा नआउने वा रकम तिर्न इन्कार गरेमा मुद्दा दर्ता गर्ने गरिएको डाङ्गीले बताउनुभयो । चेक अनादरमा कारवाहीका लागि प्रहरीमा उजुरी दिएका ब्यक्तिले सानो रकममा प्रहरीले मुद्दा दर्ताका लागि चासो नदिने गरेको गुनासो गरेका छन् । 

प्रहरीले सकेसम्म आपसमा मिलापत्र गराएर सहमतिमा यस खालका समस्याको समाधानका लागि पहल गर्दैआएको जनाएको छ ।