• २० वैशाख २०८१, बिहिबार

पाँचौँ पटक म्याद थप गर्दा पनि अझै सकिएन धरहरा निर्माण

blog

पाँचौँ पटक थप गरिएको समय धरहरा निर्माणका लागि अझै पनि अपुग हुने देखिएको छ । छैटौँ पटक थप गरिएको समयमा निर्माण सकिने नसकिने भन्ने पनि अगाडिको कार्यशैली हेर्दा शङ्का गर्ने बाटाे अझै छ ।

काठमाडौं, साउन ३१ गते । २०७५ साल असोज १ गते दुई वर्षमा सक्ने निर्माण सुरु गरिएको धरहरा पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । पाँचौँ पटक म्याद थप गरेर काम सक्ने भने पनि निर्माण जिम्मा पाएको जिआइटिसी रकम कन्स्ट्रक्सन जेभीले हाल ८२ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । 

यसको वित्तीय प्रगति भने ७८ प्रतिशत छ । पाँचौँ पटक थप गरिएको समय धरहरा निर्माणका लागि अझै पनि अपुग हुने देखिएको छ । छैटौँ पटक थप गरिएको समयमा निर्माण सकिने नसकिने भन्ने पनि अगाडीको कार्यशैली हेर्दा शङ्का गर्ने बाटो अझै छ । शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) आयोजना उपनिर्देशक झप्पर बहादुर विश्वकर्माका अनुसार यस आयोजनाको ८२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । 

आयोजना उपनिर्देशक विश्वकर्माका अनुसार यस आयोजनाको पछिल्लो म्याद असार २७ गते तीन महिनाका लागि थप भएको छ । यस आयोजनाको अन्तिम म्याद आगामी असोज २५ सम्म छ । विचमा कोरोना महामारीको कारण थप भएको म्याद विचमा कामदारको समस्या र निर्माण सामग्रीको अभाव देखाउँदै पटक पटक म्याद थप भएको छ । निर्माण कम्पनीले अन्तिम पटक थपेको म्यादमा बाँकी काम सबै सक्ने जनाएको विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७५ सालमा दुई वर्षका लागि ठेक्का लगाएको धरहराको ठेक्का अहिलेसम्म पाँच पल्ट थप भएको छ । अब थपेको समयमा भने निर्माण कम्पनीले काम सक्ने प्रतिबद्धता जनाएको छ ।” 

उहाँका अनुसार यस आयोजनाको प्रमुख कामहरु सकिएको छ ।  अब ससाना कामहरु मात्र बाँकी रहेकाले थपिएको म्यादमै आयोजनाका सबै काम सकिनेछन् । यस आयोजनाको मुख्य भाग धरहरा (माथिको भाग) को काम सकिएकाे छ । तलको बेसमेन्ट पार्किङकाे निर्माणको काम पनि सबै सकिएको छ । वरिपरि बगैंचा निर्माणको काम र विद्युतीय जडानको काम मात्र बाँकी रहेकाले तोकिएको समयमा नै काम सकिने उहाँ बताउनुहुन्छ ।  मिन्ट म्युजियमको काम पनि बाँकी  छ ।

दशैँमा धरहरा चढ्न पाइने 

आयोजना उपनिर्देशक झप्परबहादुर विश्वकर्माका अनुसार यस आयोजनाको असोज अन्तिममा सबै काम सकिने भएकाले दशैँमा सर्वसाधारणले धरहरा चढ्न पाउनेछन् । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले अब थपिएको म्यादमै आयोजनाको काम सक्ने जनाएको छ । आयोजनाको काम सम्पन्न भएर हस्तान्तरण हुने बित्तिकै हामी सर्वसाधारणका लागि खुल्ला गर्छौं ।”

मूल धरहराको ल्याण्डस्केपको काम सकेर मिन्ट म्युजियमको सामान्य काम मात्र बाँकी रहने हुनाले धरहरा सञ्चालनमा आउने सम्भावना प्रबल रहको रहेको उहाँको भनाइ छ । 

सुन्धारालाई पुरानै संरचनामा ल्याउने तयारी 

धरहरा पुनर्निर्माण गर्ने क्रममा सुन्धारालाई पुरानो संरचनामा ल्याउने तयारी भएको उपनिर्देशक विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार सुन्धारामा प्राकृतिक रुपमा आउने गरेको पानीलाई नै निरन्तरता दिने पहल भइरहेको छ ।

उहाँले भन्नुभयो, “सुन्धारालाई संरक्षण गर्नेतर्फ हाम्रो ध्यान छ । स्थानीय सरोकारवालाहरुको माग पनि प्राकृतिक रुपमा नै पानी ल्याउने भएको हुँदा यसलाई प्राथमिकता दिएका छौँ ।” सुन्धाराको पुरानो संरचना नबिगारीकन संरक्षण गर्ने योजना नै रहेको उहाँले बताउनुभयो । 

धरहरा पुनर्निर्माणको जिम्मा जिआइटिसी रमन कन्स्ट्रक्सनले पाएको थियो । यसको सुरुको ठेक्का लागत तीन अर्ब ४८ करोड (भ्याट समेत) थियो  । अहिले यसको लागत पाँच अर्ब ४६ करोड पुगेको छ  ।

भिडियोः मनोज रत्न शाही र केशब गुरुङ 


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।