• ४ पुस २०८१, बिहिबार

प्राकृतिक प्रकोप : क्षतिको तत्काल सम्बोधन गरिने

blog

काठमाडौँ, साउन ३१ गते । सरकारले मुस्ताङमा भेल र पहिरोले पु-याएको क्षतिको तत्काल सम्बोधन गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका तर्फबाट गर्नुपर्ने सबै पहल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिनुभएको छ। 

उहाँहरूबिच भएको छलफलका क्रममा देशका विभिन्न स्थानमा भारी वर्षाबाट ज्यान जोगाउन र विपत् सामना गर्नुपरेको मुस्ताङलगायत स्थानमा आवश्यक राहत तथा उद्धार व्यवस्था गर्न गृहमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिनुभएको हो। छलफलका क्रममा गृहमन्त्री श्रेष्ठले मुस्ताङमा भएको क्षतिको जानकारी दिँदै देशका विभिन्न स्थानमा सम्भावित क्षतिको न्यूनीकरणका लागि गृह मन्त्रालयले गरिरहेको पहलबारे प्रधानमन्त्री प्रचण्डसमक्ष बिफ्रिङ गर्नुभयो। 

गृहमन्त्री श्रेष्ठको नेतृत्वमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सरोकारवालासहितको बैठकमा मुस्ताङमा भएको क्षति र देशका अन्य भूभागको विपत्का विषयलाई सम्बोधन गर्ने निर्णय भएको छ। 

बैठकले मुस्ताङलगायतका क्षेत्रमा पूर्ण रूपमा क्षतिग्रस्त भएका ३१ घरका बासिन्दाका लागि निजी आवास निर्माण अघि बढाउने निर्णय गरेको छ। तत्काल राहतका लागि अपुग खर्चको भरणपोषण केन्द्रबाट गर्ने तथा मुस्ताङमा बाढीले क्षति पु-याएको प्रहरी चौकी, वडा कार्यालयलगायतका सरकारी कार्यालयको क्षतिको आँकलन तत्काल गरी पुनर्निर्माणका लागि केन्द्रबाट आवश्यक प्राविधिक पठाउने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक पोखरेलले जानकारी दिनुभयो। 

माथिल्लो मुस्ताङ जाने पक्की पुल भत्किएकाले लोमान्थाङ नाका जोड्नका लागि तत्काल आवश्यक पहल गर्ने, त्यहाँसम्म पुग्ने बेँसीसहरको बाटो पहिरोले भत्किएको अवस्थासहितको आँकलन मङ्गलबारसम्म गरेर निर्माणका लागि सडक डिभिजन कार्यालय तथा अन्य प्राविधिक टोली त्यस क्षेत्र पठाइनेछ।

सडक मार्गबाट स्रोत साधन पु-याउन नसकेको खण्डमा हेलिकोप्टरमार्फत डोजरका लागि आवश्यक तेल तथा अन्य सामग्री त्यहाँ पु-याउने निर्णय पनि बैठकले गरेको छ। मुस्ताङमा बाढीले पु-याएको क्षतिको विवरण सङ्कलन कार्य जारी छ। छुट्टाछुट्टै टोलीले सो क्षेत्रमा भएको भौतिक तथा पूर्वाधार क्षतिको विवरण सङ्कलन गरिरहेको छ। त्यस्तै त्यहाँ उद्धार तथा राहत वितरण जारी छ। 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको टोलीले पुरिएका घरबाट सामग्री निकाल्न सहयोग गरिरहेका छन्। साथै अवरुद्ध खानेपानी तथा बिजुली व्यवस्थापन जारी रहेको प्राधिकरणले जनाएको छ। बाढीले भत्काएका पक्की पुल तथा सडक मर्मत गर्न सडक विभाग र प्राधिकरणले संयुक्त पहल गरिरहेको छ। 

यसैबिच वर्षा केही कम भएकाले देशका ठूला साना नदीको जल सतह घटेको छ। कोशी, नारायणी, बागमती, कालीगण्डकी, बबई, कर्णाली, महाकालीलगायतका ठूला नदीको जल सतह सोमबार साँझसम्म सतर्कता तहमुनि आइपुगेको बाढी पूर्वानुमान शाखाले जनाएको छ। तर बुधबार फेरि वर्षा हुन सक्ने भएकाले जल सतह बढ्ने सम्भावना कायमै रहेकाले तटीय क्षेत्रमा सावधानी कायम राख्न भनिएको छ।