• १९ असार २०८१, बुधबार

सहकारीको छुर्पी अमेरिका निर्यात

blog

वालिङ समाचारदाता

वालिङ, साउन ३० गते  । स्याङ्जाको वालिङमा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीले कृषकबाट दुध सङ्कलन गरेर विभिन्न प्रकारका परिकारसमेत उत्पादन गर्दै आएको छ ।

पशुपालक कृषकले उत्पादन गरेको दुध संस्थाले खरिद गरेर त्यसबाट छुर्पी, पनिर, दही, नौनी, घिउ, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएको सहकारीकी प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिनुभयो । प्रबन्धक रेग्मीका अनुसार सहकारीले आफैँ दुधबाट बन्ने परिकार बनाएर स्थानीय बजारमा बिक्री गर्दै आएको छ । स्थानीय बजारमा मात्रै खपत नहुने उत्पादित वस्तु बिक्रीका लागि काठमाडौँ पठाउने गरिएको सहकारीले जनाएको छ । 

सहकारीले उत्पादन गरेको छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुँदै आएको प्रबन्धक रेग्मीले बताउनुभयो । स्याङ्जासँगै पर्वतको दक्षिणी भेगबाट समेत सहकारीद्वारा स्थापना गरिएको दुग्ध सङ्कलन (डेरी) केन्द्रमा कृषकले दुध ल्याउने गरेका छन् । दैनिक आठ सयदेखि एक हजार एक सय लिटरसम्म दुध सङ्कलन हुने सहकारीले जनाएको छ । 

सहकारीले दैनिक २५ देखि ३० किलो छुर्पी उत्पादन गर्ने र प्रतिकिलो एक हजार रुपियाँदेखि एक हजार एक सयसम्ममा बिक्री हुँदै आएको छ । उत्पादित वस्तु बिक्रीका लागि कुनै समस्या नभएको सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताउनुभयो । सहकारीले कृषकलाई प्रतिलिटर दुधमा दुई रुपियाँ ५० पैसाका दरले अनुदान दिँदै आएको छ भने कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्नुका साथै विभिन्न प्रकारका बिउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएको सहकारीका अध्यक्ष शर्माले भन्नुभयो । 

बाख्रापालक किसानलाई बोयर बोका उपलब्ध गराउनुका साथै १५० किलोदेखि माथि अदुवा लगाउने किसानलाई प्रतिकिलो २५ रुपियाँका दरले अनुदान दिनुका साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना किसानलाई भैँसी अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदान र २८ जना किसानलाई भकारो सुधार कार्यक्रम अन्तर्गत अनुदान वितरण गरिएको सहकारीले जनाएको छ । २०७५ सालमा स्थापना भएको सहकारीमा दुई हजार ८५० सेयर सदस्य रहेका छन् ।