• १३ मंसिर २०८१, बिहिबार

ढकियामा ढाकिएको घुमनी सिप

blog

रजनी योगी

सुर्खेत, साउन २९ गते । घुमनी थारू ७२ वर्ष पुग्नुभयो । उमेरका हिसाबले आराम गर्नुपर्ने अवस्था भए पनि घुमनीको जोसजाँगरले विश्राम लिएको छैन । बुढ्यौली उमेरमा पनि उहाँका हात खाली छैनन् । पुख्र्र्यौली सिपयुक्त घुमनीका हातले ढकिया बुन्न थालेको छ दशक बित्यो । जसले अझै निरन्तरता पाइरहेको छ । खेतबारी, मेलापात, चुलोचौकोबाट बचेको समयमा घुमनी आकर्षक ढकिया बुन्नुहुन्छ । सानै उमेरदेखि सिप सिक्नुभएकी घुमनीले हजारौँको सङ्ख्यामा ढकिया बुनिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “उमेरमा त दुई/तीन दिनमै एउटा ढकिया बुन्थेँ । अहिले १२/१३ दिनमा एउटा बुन्ने गरेको छु । 

थारू समाजमा ढकिया बुन्ने चलन हराउन थालेको छ । वीरेन्द्रनगर नगरपालिका–१० निवासी घुमनीलाई परम्परागत पहिचानसहितको ढकिया बुन्ने पेसा सङ्कटमा पर्ने हो कि भन्ने चिन्ताले पिरोलिनुभएको छ । उहाँ आफ्नो समुदायको सिपलाई जोगाउनु पर्छ भन्ने पक्षमा हुनुहुन्छ । पछिल्लो पुस्ताले पनि सिके हुन्थ्यो भन्ने लाग्छ उहाँलाई तर उहाँकै घरमा छोरीबुहारीलाई ढकिया बुन्न आउँदैन । उहाँले नसिकाउनुभएको पनि होइन तर यसप्रति चासो बढेन । 

“छोरीबुहारीले ढकिया बुन्न जान्दैनन्, चासो पनि लिँदैनन्, हाम्रो चलनमा बिहे, भोजभतेरमा समेत ढकियाको प्रयोग अनिवार्य हुन्थ्यो । अहिले हराउँदै गएको छ,” उहाँले भन्नुभयो । “ढकिया थारू समुदायको पहिचानसँग जोडिएको सिप हो । नयाँ पुस्ताले ढकिया बुन्न ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा छ ।”

वनमा पाइने काँस र मुज घाँसबाट आकर्षक तथा परम्परागत ढकिया बुन्ने गरेको उहाँले जानकारी दिनुभयो । ढकिया बुन्नका लागि सामग्री पाउन समस्या छैन । प्रविधिको विकाससँगै कला–संस्कृतिको धनी थारू समुदाय आफ्नो पहिचान भुल्दै गएकामा भने उहाँलाई चिन्ता छ । थारू कला, परम्परा र संस्कृति जोगाइराख्नलाई पनि घुमनीले ढकिया बुनिरहनुभएको छ । सेताम्मे कपाल कुक्रुक्क फुको शरीर भए पनि घुमनीले आफ्नो परम्परा भुल्नुभएको छैन । घरायसी सामान राख्नका लागि ढकियाको प्रयोग हुने गर्छ । लोप हुन लागेको ढकियाको संरक्षणका लागि नयाँ पुस्तालाई यससम्बन्धी तालिम दिनुपर्ने आवश्यकता रहेको छ । “ढकियाले थारू समुदायको पहिचान झल्काउँछ,” उहाँ भन्नुहुन्छ, “थारू समुदायका युवाले ढकिया बुन्नतर्फ ध्यान नदिएकाले उनीहरूलाई तालिमको आवश्यकता छ ।”

उक्त समुदायको पहिचानसँग जोडिएको ढकिया बनाउने परम्परागत लोप हुन थालेको थारू अगुवा दीपबहादुर चौधरीले बताउनुभयो । “ढकिया थारू जातिको पहिचानसँग जोडिएको छ,” उहाँले भन्नुभयो, “नयाँ पुस्ताले ढकिया बुन्न ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा छ ।” पूजाआजा र शुभकार्यका लागि प्रयोग गरिने तथा विवाहमा दाइजो वा मृत्युवरणका बेला दानका रूपमा ढकिया दिने चलन रहेको थारू अगुवा रूपलाल चौधरीले बताउनुभयो । अर्का थारू अगुवा मानबहादुर चौधरी ढकियालाई सुर्खेतको चिनोका रूपमा विकास गर्नुपर्ने मत राख्नुहुन्छ ।