• १३ मंसिर २०८१, बिहिबार

रोपिए एक लाख बिरुवा

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, साउन २९ गते । रुकुमपश्चिमका विभिन्न स्थानमा एक लाखभन्दा बढी बिरुवा रोपिएका छन् । डिभिजन वन कार्यालय रुकुमपश्चिमले निःशुल्क र अनुदानमा उपलब्ध गराएका एक लाख १७ हजार ७४१ बिरुवा आर्थिक वर्ष २०७९/८० मा रोपिएका हुन् । 

कार्यालयका निमित्त वन डिभिजन प्रमुख शेरबहादुर परियारका अनुसार विभिन्न प्रजातिका सात हजार ८२३ वटा बिरुवा निःशुल्क र एक लाख नौ हजार ९१८ वटा बिरुवा अनुदान कार्यक्रम अन्तर्गतबाट रोपिएको हो । निःशुल्क वितरण गरिएका बिरुवा विभिन्न सार्वजनिक क्षेत्र, अतिक्रमित क्षेत्र, निजी क्षेत्र, सडक किनारा र सामुदायिक वन क्षेत्रमा रोपिएको बताइन्छ । कार्यालयले सञ्चालन गरेका विभिन्न पाँच वटा कार्यक्रम अन्तर्गत कपुर, बेल, गुलमोहर, लप्सी, कल्की, सिसौ, बकाइनो, तेजपात, छतिवन, देवदार, टिमुर, सल्लोलगायत बिरुवा निःशुल्क वितरण गरेको थियो । 

जडीबुटी विकास कार्यक्रम अन्तर्गत जिल्लाभर विभिन्न २३ वटा निजी तथा सामुदायिक वन उपभोक्ता समूहले ५५ हजार ६३३ वटा बिरुवा रोपेका छन् । महिला कृषि वन कार्यक्रम अन्तर्गत नौ वटा निजी फार्मले २९ हजार सात सय वटा बिरुवा रोपेका छन् ।

डिभिजन वन कार्यालय रुकुमपश्चिमका अनुसार जडीबुटी बिरुवा उत्पादन तथा खेती विस्तार कार्यक्रम अन्तर्गत छ वटा निजी फार्मले १७ हजार सात सय बिरुवा रोपिएको जनाइएको छ । पकेट क्षेत्रमा जडीबुटी खेती विस्तार कार्यक्रमबाट एक वटा सामुदायिक वन उपभोक्ता समूह र एक निजी फार्मले पाँच हजार नौ सय वटा बिरुवा रोपेका छन् । निजी वन प्रवर्धन कार्यक्रमबाट दुई वटा निजी फार्मले ९८५ वटा विभिन्न प्रजातिका बिरुवा रोपका छन् । 

अनुदान कार्यक्रमबाट टिमुर, दाँते ओखर, तेजपात, लौठ सल्लो, अलैँची, काउलो, चिउरी, केशर, डालेचुक, पदमचालका बिरुवा रोपिएको हो । त्यसै गरी रिठा, रोजमेरी, राइखन्यु, किम्बु, सिसौ, इपिलइपिल, कुिरल्लो, डालेघाँसलगायत बिरुवा विभिन्न स्थानमा रोपिएको बताइन्छ । अनुदान कार्यक्रम सञ्चालनका लागि गरिएको सम्झौता अनुसार अनुदानग्राहीले आफैँले बिरुवा खरिद गरेका हुन् । निःशुल्क वितरण गरिएका बिरुवा वन कार्यालयले किनेर वितरण गरेको हो । जिल्लाका विभिन्न २१ वटा स्थानमा रहेका नर्सरीले बिरुवा उत्पादन गरिरहेका छन् । ती नर्सरीमा रहेका बिरुवाले मात्र नपुगेपछि रुकुमपूर्वको चुन्वाङ र दाङ जिल्लाबाट बिरुवा खरिद गरिएको बताइएको छ ।