अमृतप्रसाद पौडेल
म्याग्दी, साउन २८ गते । शुक्रबारदेखि लगातार परेको वर्षाले गर्दा म्याग्दीको ग्रामीण भेक जोड्ने सडकहरू अवरुद्ध भएका छन् । लगातारको वर्षाले गर्दा जिल्लाको पश्चिम भेक जोड्ने बेनी–दरवाङ सडक खण्डको फापरखेत स्थित घुमाउने भीरमा सडक अवरुद्ध भएको छ । त्यस्तै, बेनी–जोमसोम–कोरला सडक खण्डको बैसरीमा सडक अवरुद्ध भएको छ ।
बेनी–दरबाङ सडकको फापरखेत नजिकैको घुमाउने भिरमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सधैँजसो सास्ती खेप्दै आएका छन् । १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिँधा यातायात सेवा प्रभावित हुने गरेको हो । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण रहन्छ ।
लगातारको वर्षाले गर्दा बेनी नगरपालिका–९ अल्बाङमा ४० रोपनीमा लगाइएको धान तथा मकैमा बाढीले क्षति पुर्याएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो । यसैगरी, सदरमुकाम बेनीदेखि वडा नम्बर २ को ज्यामरुकोट जोड्ने सडक र बेनीदेखि वडा नम्बर ६ को छाप जोड्ने सडक पनि अवरुद्ध भएको छ । बेनी–दरवाङ सडक खण्डको बेनी नगरपालिका–४ फापर खेत नजिकै रहेको घुमाउने भीरमा सडक अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार महभिर–राम्चे सडक खण्ड अवरुद्ध छ । उक्त सडक पछिल्लो १५ दिनदेखि सडक अवरुद्ध रहेकोमा यस पटकको वर्षाले झन् बढी क्षति पुग्दा अन्नपूर्ण गाउँपालिकाको ७ र ८ नम्बर वडाका अधिकांश बस्तीको सिँधा सम्पर्क अवरुद्ध भएको छ । त्यस्तै, बेनी जोमसोम सडकखण्ड अन्तर्गतको जलथले, गुइँठे र रुप्सेमा सडक निकै जोखिम अवस्थामा छ । अन्नपूर्ण गाउँपालिका–६ पोखरे बगरमा पहिरोले एउटा घरमा सामान्य क्षति पुगेको उहाँले बताउनुभयो ।
रघुगंगा गाउँपालिकाका इन्जिनियर सुदीप गौतमका अनुसार गलेश्वर–मौवाफाँट–दग्नाम–ध्यासीखर्क हुँदै कुइने मङ्गले जोड्ने सडकको रघुगंगा गाउँपालिका–७ चिमखोल पारीपट्टी मालाङमा दुई सय मिटर सडक पहिरोले बगाउँदा अवरुद्ध भएको छ । बेनी–जोमसोम सडक खण्डअन्तर्गत वडा नम्बर–२ बैसरीमा सडक अवरुद्ध भएको छ । बैसरीमा सडक अवरुद्ध हुँदा अहिले वैकल्पिक मार्गको रूपमा घुमाउनेताल–बगैँचा–पिप्ले–बेग हुँदै बेगखोला जाने सडक प्रयोग भएको छ । आइतबारदेखि बिहीबारसम्म बेनी–जोमसोम सडक खण्डअन्तर्गतको घुमाउनेताल–बेगखोला सडक पूर्णरुपमा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले बताउनुभयो । वडा रघुगंगा गाउँपालिका –१ बतासेमा दलबहादुर पुर्जाको घर वर्षाका कारण भत्केर पूर्ण क्षति भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।
धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालका अनुसार गाउँपालिकाको ताकम–मच्छिम–लुलाङ सडक खण्ड अन्तर्गतको फलिया गाउँमा पहिरोले सडक अवरुद्ध भएको छ । उक्त सडक हुँदै धवलागिरि गाउँपालिका–१ को दुर्गम गुर्जा जानका लागि लुलाङसम्म गाडीमा पुग्ने गरिन्छ । रिजालका अनुसार पालिकाको मच्छिममा एउटा घरमा क्षति भएको जानकारी आए पनि क्षतिको यकिन विवरण आइसकेको छैन ।
मालिका गाउँपालिकाको केन्द्रबाट वडा जोड्ने सडक सबै बन्द भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले जानकारी दिनुभयो । दरवाङ–बेनी सडकखण्डको बाङ्गे पहिरोमा पनि पटकपटक अवरुद्ध भएर सताउने गरेको भए पनि अहिले भने उक्त स्थानमा सवारी सञ्चालन रहे पनि कुन समय बन्द हुन्छ यकिन नरहेको उहाँले बताउनुभयो । दरवाङदेखि वडाको केन्द्र जोड्ने अधिकांश सडकहरू अहिले बन्द रहेका छन् ।
मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाका अनुसार सिम–कुँहु सडक खण्डको खुम्ल्याहामा पहिरोले सडक अवरुद्ध भएको छ । त्यस्तै बाबियाचौर–बरंजा जोड्ने सडक अवरुद्ध भएको छ भने अन्य क्षति अहिलेसम्म नभएको उहाँले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जिल्लामा अन्य कुनै भौतिक तथा मानवीय क्षतिको विवरण आएको छैन ।