तिलाचन पाण्डे
तम्घास, साउन २७ गते । बिहीबार दिउँसोदेखि कालीगण्डकी कोरिडोरमा पहिरो खस्ने क्रम रोकिएको छैन । जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडकखण्डको ठुलाखोलामा सडक माथिबाट ढुङ्गासहित पहिरो खस्ने क्रम शनिबार दिउँसोसम्म नरोकिएपछि सडक अवरुद्ध भएको हो ।
पहिरो पन्छाउनका लागि तीन वटा एक्स्काभेटर प्रयोग गरिएको सो सडकको पिच गर्ने जिम्मा पाएको कालिका कन्स्ट्रक्सन इन्जिनियर गौरव विक्रम शाहले जानकारी दिनुभयो । पहिरोमा ठुलो ढुङ्गा रहेको र माथिबाट ढुङ्गा खस्नेक्रम जारी रहेकाले सडक पूर्ण रूपमा खुलाउन नसकिएको शाहाले बताउनुभयो ।
शुक्रबार साँझ साना गाडी छिर्ने गरी बाटो खुलाए पनि ठुला गाडीहरू जान सक्ने गरी पूर्ण रूपमा सडक खुलाउन नसकिएको शाहको भनाइ छ । गुल्मीको हर्मिचौरदेखि बागलुङ बलेवासम्मको ४५ किलोमिटर सडक पिच गर्न तीन अर्बको लागतमा २०७९ मङ्सिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
कालीण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले एक सूचना जारी गर्दै सडक खुलाउन समय लाग्ने भएकाले अर्को सूचना जारी नभएसम्म सो सडकमा यात्रा नगर्न अनुरोध गर्नुभएको छ ।
सडक अवरुद्ध हुँदा हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पूर्तिघाटसम्म जाने ठुला सवारी, यात्रुहरू र पूर्तिघाटबाट बुटवलसम्म जाने सवारी साधन र यात्रुहरू अलपत्र परेका छन् ।