• २० असोज २०८१, आइतबार

कोशी प्रदेश सरकारमा आज जसपा सहभागी हुँदै

blog

कोशी प्रदेशका मुख्यामन्त्री मुख्यमन्त्री उद्धव थापा ।

गोकुल पराजुली
विराटनगर, साउन २६ गते ।
पहिचानसहितको प्रदेश पुनः नामकरणको माग गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) आजबाट कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

जसपाबाट सांसद निर्मला तावा लिम्बूलाई मुख्यमन्त्री उद्धव थापाले मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । मुख्यमन्त्री थापाले ३ बजे मन्त्रीको शपथ हुने जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भइरहेको विरोधलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाउँदै सरकारमा सहभागी हुन गरेको आग्रहलाई जसपाले स्वीकार गरेको हो । जसपाले सरकार गठन गर्न समर्थन दिएपछि आफ्ना मुद्दाहरु सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको थियो ।

मुख्यमन्त्री थापाले गठबन्धन दलहरुबीच पहिलो चरणमा सबै दलबाट एक एक जना मात्र मन्त्री नियुक्त गर्ने सहमति भएकाले विश्वासको मत लिनु अगाडि थप मन्त्री नियुक्त नहुने जानकारी दिनुभयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, ‘‘गठबन्धन दलहरुबीच विश्वासको मत लिनु अगाडि पहिलो चरण हरेक दलबाट एक–एक जना मन्त्री नियुक्त गर्ने सहमति भएको थियो । जुन आज जसपा सरकारमा सहभागी भएसँगै कार्यान्वयन हुन्छ, विश्वासको मत लिइसकेपछि चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिइनेछ ।’’

यसैबीच, मुख्यमन्त्री थापाले भदौ २ गतेबाट प्रदेशसभा बैठक सञ्चालन गर्ने विषयमा उपसभामुखसँग छलफल भइरहेको जानकारी दिनुभयो । प्रदेशसभामा पेश भएका बजेट सम्बन्धी अध्यादेशहरु भदौ १० गतेसम्ममा प्रतिस्थापन गरिसक्नुपर्ने भएकाले पनि बैठक बस्नुपर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री थापाले हप्ता १० दिनभित्रमा प्रदेशसभाबाट विश्वासको मत लिने पनि जानकारी दिनुभयो ।

सरकारका कामलाई गति दिन आजै गठबन्धन दलको बैठक बस्ने तयारी गरेको मुख्यमन्त्री थापाले बताउनुभयो । बैठकमा आगामी दिनमा सरकारले गर्नुपर्ने कामको प्राथमिकता आदि विषयमा छलफल गर्ने तयारी छ ।

जसपालाई सरकारमा सहभागी गराउनुअघि मुख्यमन्त्री थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरुसँग भेटघाट गरी प्रदेश नामकरणका विषयमा वार्ता र संवादको माध्यमबाट सहमतिमा पुग्ने र दलहरुबीच समस्या समाधानका लागि समझदारी बनाउने प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

मुख्यमन्त्री थापाले सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहभागी गराउने प्रयत्न जारी राखेको र कोशी प्रदेशसभामा देखिएको गणितको समस्या समाधान गरी सरकारलाई दिगो बनाउन र स्थिर सरकारका लागि राप्रपाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।