मीना कँडेल
कावासोती, साउन २६ गते । पूर्वी नवलपरासीको कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि समुदायका बालबालिका र युवाहरुलाई धिमे बाजा बजाउने प्रशिक्षण दिन थालिएको छ ।
सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले भन्नुभयो, “धिमे बाजा नेवार समुदायमा शोकबाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा हो । तर यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेको छ । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेछि नेवार समुदायका बालबालिका र युवाहरु धिमे बाजा बजाउने प्रशिक्षण दिन थालिएको छ ।”
‘‘नयाँ पुस्तालाई आफ्नो परम्परा र संस्कृतिबारेमा जानकारी दिन यो अभियान सुरु गरिएको हो,’’ उहाँले भन्नुभयो, ‘‘आफ्नै समुदायको मौलिक परम्परा बारेमा जिल्लाभरिका गुठीमा सञ्चालन गरिनेछ ।’’
कावासोती नगरपालिका–२ का रबिन श्रेष्ठ यतिखेर धिमे बाजा बजाउन व्यस्त छन् । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा खिन्न हुनुपरेको उहाँको विगतको अनुभव छ । तर अहिले उहाँ खुसी हुनुहुन्छ । सोही ठाउँकी आकृति श्रेष्ठको पनि आफ्नो समुदायको पौराणिक धिमे, मादल र झ्याली बाजा बजाउन सिक्न थालेको केही हप्तामा नै सहज लाग्न थालेको अनुभव छ ।
“आफ्नो समुदायको बाजा बजाएको टेलिभिजनमा मात्र देखेकी थिएँ । तर अहिले मलाई नै यी बाजा बजाउन आउँछ,” उहाँले भन्नुभयो ।
यो बाजा पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहे पनि स्थानीय सुनीता श्रेष्ठले आफैँ अग्रसर भएर यो बाजा बजाउन सिकेको बताउनुभयो । कक्षा १२ को परीक्षा दिएर बसेको खाली समयलाई आफ्नो धर्म संस्कृति जगेर्ना गर्न सदुपयोग गरेको उहाँको भनाइ छ ।
“अब नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै धिमे बाजा बजाउन सक्ने भएकी छु,” श्रेष्ठले भन्नुभयो ।
आफ्नो कला र संस्कृति लोप हुँदै गएको महसुस गरी सुनीता, आकृति र रबिनसहित झण्डै २० जनाले यो बाजा बजाउन सिकेका छन् । सुरु–सुरुमा धिमे बाजा बजाउन असहज भए पनि अहिले बजाउँदा आनन्द आउने गरेको उहाँहरु बताउनुहुन्छ ।
सिका नेवाः गुठी कावासोतीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि भन्दै आयोजना गरेको ४५ दिने तालिममा सहभागी भएर स्थानीय युवाले बाजा बजाउन सिकेका छन् । पर्व र संस्कृतिका धनी नेवार समुदाय आफ्नो जातीय पहिचान जोगाउन प्रयत्नशील रहे पनि सरकारी निकायबाट सहयोग नपाइएको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताउनुभयो । ‘धिमे बाजा’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन रहेको सिका नेवाः गुठीका सांस्कृतिक समूह संयोजक रोशनकुमार श्रेष्ठले बताउनुभयो ।
“नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गरिन्छ”, उहाँले भन्नुभयो, “अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा वैभवपूर्ण सांस्कृतिक धरोहर हस्तान्तरण हुन नसकेर संस्कृति लोप हुने अवस्थामा पुगेका बेला बाजा संरक्षणमा जुटेका हौँ ।”
एक पुस्ताबाट अर्को पुस्तामा आफ्नो संस्कार र संस्कृति यसैगरी हस्तान्तरण गर्दै जाने लक्ष्य रहेको श्रेष्ठको भनाइ छ ।