• १२ साउन २०८१, शनिबार

कालीगण्डकी करिडोर अवरुद्ध

blog

करिडोरमा गएको पहिरो र पहिरो पन्छाउँदै स्काभेटर ।

तिलाचन पाण्डे
तम्घास, साउन २६ गते ।
कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक माथिबाट ठूलो पहिरो खसेका कारण बिहीबार दिउँसोदेखि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउनका लागि तीन वटा स्काभेटर प्रयोग गरिएको सो सडकको पिच गर्ने जिम्मा पाएको कालिका कन्ट्रक्सनका इन्जिनियर गौरवविक्रम शाहले जानकारी दिनुभयो । पहिरोसँगै ठूलो ढुङ्गा खसेको र ढुङ्गा खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको उहाँको भनाइ छ ।

शाहले कुनै समस्या नआएमा शुक्रबार साँझसम्म पहिरो पन्छाउन सकिने सम्भावना रहेको बताउनुभयो ।

गुल्मीको हर्मिचौरदेखि बाग्लुङ बलेवासम्मको ४५ किलोमिटर सडक पिच गर्न  तीन अर्बको लागतमा २०७९ मङ्सिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

कालीण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले एक सूचना जारी गर्दै सडक खुलाउन समय लाग्ने भएकाले अर्को सूचना जारी नभएसम्म सो सडकमा यात्रा नगर्न अनुरोध गर्नुभएको छ ।

सडक अवरुद्ध हुँदा हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पूर्तिघाटसम्म जाने यात्रुहरु र पूर्तिघाटबाट बुटवलसम्म जाने सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।