• ११ वैशाख २०८१, मङ्गलबार

अन्तर्राष्ट्रिय संयुक्त कला प्रदर्शनी

blog

काठमाडौँ, साउन २६ गते । नेपाल केन्द्रको आयोजनामा र आर्ट्स फर पिपलको सहयोगार्थ एक दर्जन नेपाली तथा विदेशी कलाकारका करिब डेढ सय कृति प्रदर्शनीमा राखिएको छ । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा आयोजना गरिएको क्रसिङ कन्टिनेन्ट आर्ट एक्जिविसनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिलसिनाले विदेशी तथा स्वदेशी कलाकारका कृतिलाई एकै स्थामा प्रदर्शनीमा राखिनु देशका लागि सम्मानको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कलाकारले आफ्नो देशको मौलिकता संस्कृतिलाई चित्रमार्फत उजागार गर्दै यस्ता कार्यक्रमलाई तीव्र र व्यापक बनाउनुपर्ने बताउनुभयो ।”

नेपालस्थित पोर्चुगलका कन्सुलर तथा उद्यमी राजेन्द्र खेतानले कला प्रदर्शनीले नेपाल र विदेशी भावनालाई एउटै ठाउँमा ल्याएर दर्शकलाई नयाँ स्वाद दिएको बताउनुभयो । उहाँले प्रतिलिपि अधिकारलाई नेपालले गम्भीरतापूर्वक नलिएका कारण कतिपय सर्जक पछाडि पर्नु परेको धारणा व्यक्त गर्नुभयो । प्रदर्शनीमा राखिएका एक दर्र्जन कलाकारका कृतिले एक आपसमा मैत्रीभाव बढाउने उहाँको विश्वास रहेको छ । नेपाल जर्मन च्याम्बर अफ कमर्सका अध्यक्ष सन्तोष कुँवरले कलाकारका कृति सरकारको उदासीनताका कारण धेरै अर्थमा पछाडि परेको बताउँदै आगामी दिनमा समाजका सचेत नागरिकमा कलालाई आत्मसात् गर्दै अगाडि बढाउने दायित्व रहेको बताउनुभयो । 

पोर्चुगलबाट आएकी सहभागी कलाकार आना सिल्भिया मालहाडोले नेपाल केन्द्र र आटर्स फर पिपलको संयुक्त आयोजनामा आगामी सिरिज पनि गरिने बताउनुभयो । उहाँले पहिलो पटक नेपाल आएको बताउँदै यहाँको मौलिकता र कला दुवैले मन्त्रमुग्ध बनाएको बताउनुभयो । यहाँका कलाकारका सिर्जनामा शक्तिशाली भाव रहेको भन्दै विश्व बजारमा पुग्नुपर्नेमा ढिला गर्न नहुने सुझाउनुभयो । कलाकार सिल्भियाका करिब चालिस सिर्जना प्रदर्शनीमा राखिएका छन् । प्रयोग गरिएका चियाको झोलालाई पुनः 

प्रयोगमा ल्याउन वनस्पति र चराका वाटर कलर थिममा राखिएको छ । त्यस्तै बङ्गलादेशबाट सहभागी कलाकार असिफ उजमानले पनि कलाको सामाजिक महत्वबारे बोल्नुभएको थियो ।  

नेपाल केन्द्रका संस्थापक निर्मलकुमार थापाले पहिलो पल्ट प्रदर्शनी भएको र आगामी दिनमा धेरैभन्दा धेरै कलाकारलाई स्थान दिइने र अझ फराकिलो स्थानमा गरिने बताउनुभयो । उहाँले कलाकारको हौसला बढाउने कर्ममा सबै जना लाग्नुपर्ने बताउँदै कलाको कुनै देश नहुने र सीमित अर्थले बाँध्न नसकिने बताउनुभयो । कमलपोखरीस्थित हुकुम दरबारमा भइरहेको क्रस कन्टिनेन्टल कला प्रदर्शनी शुक्रबारसम्म चल्ने छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कलापारखीले चित्र हेर्न सक्ने छन् ।