• १५ वैशाख २०८१, शनिबार

दाहाल यज्ञनिधि पुरस्कार साहित्यकार चापागाईंलाई

blog

साहित्यकार निनु चापागाईंलाई दाहाल यज्ञनिधि पुरस्कार अर्पण गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि इतिहासकार साहित्यकार ज्ञानमणि नेपाल।

काठमाडौं, साउन २५ गते। साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाईंलाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले बिहीबार एक लाख ५० हजार राशिको पुरस्कार साहित्यकार चापागाईंलाई प्रदान गर्नुभएको हो।

सोही अवसरमा दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट दुई जना छात्रछात्रा सम्मानित हुनुभएको छ।दरबार हास्कुलको कक्षा ८ मा उत्तिर्ण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जीपीए ल्याउने छात्रतर्फ निखिलकुमार साह (३.८०) र छात्रातर्फ (३.३३) ल्याउने लुनिभा कार्की सम्मानित हुनुभएको हो।२० हजार राशिको यो पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको हो।


सम्मान कार्यक्रम अगाडि दाहाल यज्ञनिधिको व्यक्तित्व र कृतित्व केन्द्रित अन्तरक्रिया सम्पन्न भएको थियो।अन्तरक्रियामा प्रा.डा. वद्रीविशाल भट्टराई, प्रमोद प्रधान, डा. रमेश शुभेच्छु र दिनेश लुइटेलले ‘जदौ’ दाहाल यज्ञनिधिको व्यक्तित्व र कृतित्व केन्द्रित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा गायिका लोचन भट्टराईले दाहाल यज्ञनिधिको गीत गाएर स्वागत मन्तव्य राख्नुभयो भने देवकुमारी लुइटेलले दाहाल यज्ञनिधिको कविता वाचन गर्नुभयो ।

सदनका अध्यक्ष सुधा दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यकार प्रा.डा. माधव पोखरेल, डा. विष्णु राई,पूर्वमन्त्री गिरिराजमणि पोखरेल, साहित्यकार प्रलाद पोखरेल, पत्रकार पुरुषोत्तम दाहालगायत नेपाली साहित्य र कला क्षेत्रका व्यक्तित्वको सहभागिता थियो।

‘दाहाल यज्ञनिधि सुधा सदन’ले ५१ लाख रूपैयाँको अक्षयकोश राखेको छ।अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई पुरस्कार प्रदान गरिँदै आएको हो।

वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मनुभएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो।उनका .‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६),  दाहाल यज्ञनिधिका कविता (२०७८), जदौ (२०७६) जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन्।