• १५ चैत २०८०, बिहिबार

दाङमा एक वर्षमा २८ खानेपानी योजना

blog

घोराही उपमहानगरपालिका–१९ लिथानमा निर्माण भएका खानेपानी योजना । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, साउन २५ गते । दाङमा एक वर्षको अवधिमा २८ वटा खानेपानी योजना निर्माण सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७९-८० मा जिल्लामा सञ्चालित ३ सय २० बढी खानेपानी योजनामध्ये २८ वटा खानेपानीका योजना सम्पन्न भएका हुन् । 

क्रमागत योजनाहरु अन्तर्गत रहेका २८ वटा खानेपानी योजनाहरुको निर्माण पूरा हुँदा करिब ९० हजारभन्दा बढी नागरिक लाभान्वित भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर वसन्तकुमार दुलालले जानकारी दिनुभएको छ । उहाँका अनुसार गतबर्ष सघन खानेपानी विकास कार्यक्रमअन्तर्गत ११ वटा, तराई मधेश खानेपानी सुधार कार्यक्रमअन्तर्गत ९वटा, जलवायु अनुकूलित बृहत् खानेपानी कार्यक्रमअन्तर्गत ५ वटा, खानेपनी आयोजना गुणस्तर अभिवृद्धि तथा स्राेत संरक्षण कार्यक्रमअन्तर्गत २ वटा र खानेपानी आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रमअन्तर्गत एउटा योजना सम्पन्न भएका थिए । 

उहाँले भन्नुभयो, “निर्माण सम्पन्न भएका योजनामध्ये ७-८ वटा मात्रै उपभोक्ता समितिलाई हस्तान्तरण गरेका छौं । बाँकी योजना याे वर्ष हस्तान्तरण हुनेछन् ।” सूचना अधिकारी दुलालका अनुसार जिल्लामा यस वर्ष तीन सय ४३ वटा योजना निर्माणका क्रममा छन् । आर्थिक वर्ष २०७५÷०७६ सालदेखि निर्माणका क्रममा रहेका र केही थपिएका योजना गरेर ३ सय ४३ योजनाहरु छन् । 

जिल्लामा सङ्घीय सरकारअन्तर्गतका १ सय ८ र प्रदेश सरकारअन्तर्गत २ सय १२ वटा खानेपानी योजना छन् । प्रदेशअन्तर्गत सघन खानेपानी विकास कार्यक्रमअन्तर्गत २ सय ३१ वटा, खानेपानी आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रमअन्तर्गत ५ वटा, सरसफाइ तथा ढल व्यवस्थापन कार्यक्रम ४ वटा, खानेपानी आयोजना गुणस्तर अभिवृद्धि तथा स्राेत संरक्षण कार्यक्रममा ३ वटा, जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनामा २४ वटा, खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रमअन्तर्गत एउटा र तराई मधेश खानेपानी सुधार कार्यक्रमअन्तर्गत ५२ वटा खानेपानी योजना छन् ।