• १७ असार २०८१, सोमबार

आँखा पाक्ने रोग फैलँदा विद्यालय बन्द

blog

होमराज रानाभाट 

कावासोती, साउन २५ गते । पूर्वी नवलपरासीमा आँखा पाक्ने रोग व्यापक रूपमा फैलिएपछि जिल्लाका सबै पालिकाले मङ्गलबारदेखि चार दिन विद्यालय बन्द गरेका छन्। 

कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जङ्टिबाइटिस’ को सङ्क्रमण देखिएको भन्दै सबै पालिकाले विद्यालय बन्द गरेको जानकारी दिनुभयो। उहाँले जिल्लाको देवचुली, गैँडाकोट, नगर, नवलपुर, मध्यबिन्दुलगायतका जिल्लाका सबै अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीमध्ये ९० प्रतिशतमा सङ्क्रमण भएको उल्लेख गर्नुभयो। 

मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जितेन्द्र कँडेलका अनुसार परीक्षणका लागि आउने बिरामीमध्ये ९० प्रतिशतलाई आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जङ्टिबाइटिस’ को सङ्क्रमण देखिएको हो। डा. छविलाल थापा मगरले आँखा पाक्ने रोगबाट सबै उमेर समूहका सङ्क्रमित भए पनि बालबालिकामा छिटो र धेरैको सङ्ख्यामा सङ्क्रमित भएको बताउनुभयो।

तनहुँ समाचारदाताका अनुसार हाल बालबालिका र वृद्धवृद्धामा आँखा पाक्ने रोग बढी फैलिएको छ। आँखामा सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ। 

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले विशेष गरी कास्की जिल्लाको पोखरा महानगरपालिकासँग जोडिएको शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकामा प्रकोप बढ्दै गएको बताउनुभयो। भाइरल ‘कन्जङ्टिबाइटिस’ अर्थात् आँखा पाक्ने समस्या देखिएकाले सतर्क रहन आग्रह गरिएको अधिकारीले जानकारी दिनुभयो। शुक्लागण्डकी पालिकाका विद्यालयले आँखा पाक्ने रोगको प्रकोप बढेको भन्दै साउन २२ देखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। विद्यालयका प्रधानाध्यापक बोधराज ढकालले पालिकाभित्र आँखा पाक्ने रोग बढ्दै गएको यसबाट बालबालिका प्रभावित भएकाले विद्यालय बन्द गरिएको जानकारी दिनुभयो। 

लेखनाथ समाचारदाताका अनुसार पोखरामा आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि तीन दिन यहाँका स्कुल बन्द गरिने भएको छ। सरोकारवालाको बैठकपछि पोखरा महानगरको शिक्षा महाशाखाले बुधबारदेखि शुक्रबारसम्म पठनपाठन रोक्ने निणय गरेको हो। महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले विद्यालय सञ्चालक, शिक्षक, अभिभावक, जिल्ला प्रशासनसहित सरोकारवालाको सुझावमा विद्यालय बन्द गर्न लागिएको जानकारी दिनुभयो। पोखरा महानगरमा २४३ संस्थागत र २०३ सामुदायिक विद्यालय छन्। बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द हुने भएको हो।  पोखराको हिमालय आँखा अस्पतालकी स्वास्थ्य निर्देशक डा. इलिया श्रेष्ठले भन्नुभयो, “आँखा पाक्ने रोग वर्षभरि देखिने र गर्मी समयमा बढी देखिने गथ्र्याे, यसपालि धेरै देखियो। स्थितिलाई नियन्त्रणमा राख्न केही दिन स्कुल बन्द गर्न आग्रह गर्दछौँ।” 

वालिङ समाचारदाताका अनुसार पछिल्लो केही हप्तादेखि स्याङ्जामा आँखा पाक्ने रोगको सङ्क्रमण बढेको छ। जिल्ला आँखा उपचार केन्द्र वालिङमा आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढ्दै गएको केन्द्रले जनाएको छ। 

जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख तेज गुरुङले आँखा पाक्ने समस्या लिएर दैनिक ३० देखि ३५ जना बिरामी केन्द्रमा आउने गरेको जानकारी दिनुभयो। यस्तै चापाकोट नगर अस्पतालमा रहेको आँखा उपचार कक्षमा पनि बिरामीको समस्या दैनिक बढिरहेको छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिन्दु कोइरालाले अस्पतालमा आउने आँखाको समस्यामध्ये आधाभन्दा धेरै आँखा पाक्ने समस्या लिएर आउने गरेका जानकारी दिनुभयो।