यदुप्रसाद भट्ट
मनाङ, साउन २५ गते । मनाङको जिल्ला अस्पतालमा अहिलेसम्म एम्बुलेन्स छैन। विपत्का बेला निकै कठिन हुने गरेको छ। यहाँ कोही गम्भीर प्रकृतिको बिरामी प-यो वा कसैलाई तुरुन्तै उद्धार गर्नु प-यो भने महँगो शुल्क तिरेर हेलिकोप्टरकै भर पर्नुपर्ने मनाङीको बाध्यता छ।
जिल्ला अस्पतालका प्रमुख रहमद अन्सारीले एम्बुलेन्स नभएको स्वीकार गर्नुभयो। अन्सारीले भन्नुभयो, “अस्पतालको एम्बुलेन्स छैन, अस्पतालको एम्बुलेन्स नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन्। गम्भीर बिरामीलाई अन्यत्र सिफारिस गर्नुपर्ने भएमा एम्बुलेन्स खोज्दाखोज्दै बिरामी अन्तिम अवस्थामा पुग्ने हो कि भन्ने त्रास हुन्छ।”
त्यसो त मनाङमा एम्बुलेन्स नै नभएको भने होइन। नासोँ गाउँपालिकाको आफ्नै एम्बुलेन्स छ। जिल्लाभरमा एउटा मात्र एम्बुलेन्स सञ्चालनमा छ। सडक सञ्जालमा नजोडिएको नार्पाभूमिको एम्बुलेन्स छैन। नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले भन्नुभयो, “हामीले त डोजर र ब्रेकर किन्यौँ, बाटो खन्दै छौँ। पहिले बाटो खनिसकौँ अनि किनौँला एम्बुलेन्स।” प्रमुख अन्सारीले चामे गाउँपालिकाको एम्बुलेन्स पनि सदरमुकाममा रहेको बताउनुभयो। मनाङ पर्यटकीय क्षेत्र भएकाले पनि यहाँ जोखिम बढी छ। जोखिमपूर्ण यात्रामा आएका बाह्य तथा आन्तरिक पर्यटक बिरामी पर्नासाथ स्वास्थ्य संस्थासम्म लैजान समस्या हुने गरेको छ।
यहाँको वातावरणमा घुलमिल हुन समस्या भएमा पर्यटक तथा यहाँका स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर परेर बिरामी हुँदा अस्पतालसम्म पु-याउन एम्बुलेन्स अभाव रहेको छ। प्रमुख अन्सारीले भन्नुभयो, “रेडक्रसको एउटा एम्बुलेन्स मनाङ ङिस्याङ गाउँपालिकामा बिग्रिएको अवस्थामा छ। अस्पतालमा एम्बुलेन्स नहुँदा यहाँका स्थानीयवासी बिरामी परेमा ज्यान नै गुमाउनुपर्ने हो कि भन्ने चिन्ता हुने गर्छ।” एम्बुलेन्सका लागि रेडक्रसको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो दिनुपर्ने स्थानीय बताउँछन्। सरकारले चासो दिनुपर्ने भए पनि मनाङका लागि यस्तो काम हुन नसकेको उनीहरूको गुनासो छ।
प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जिल्लामा एम्बुलेन्स अभाव रहेकाले सम्बन्धित निकायसमक्ष पहल गर्ने बताउनुभयो। पटक पटकको बैठकमा एम्बुलेन्स आवश्यक रहेको विषयमा छलफल तथा सम्बन्धित निकायसँग एम्बुलेन्सको माग पूर्तिका लागि पहल गर्ने गरेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “एम्बुलेन्सका लागि प्रतिबद्ध भएर समन्वय गर्ने प्रयासमा छौँ।”
स्थानीय पासाङ गुरुङ भन्नुहुन्छ, “एम्बुलेन्सको अभावले गत वर्ष बिरामी पर्दा हेलिकोप्टर चार्टर गरेर उपचारका लागि पोखरा गएँ। सामान्य अधिकारका रूपमा रहेको एम्बुलेन्स सेवा सरकारले पूरा गरे स्थानीयलाई राहत मिल्थ्यो। भन्नेबित्तिकै हेलिकोप्टर पनि पाइँदैन, यहाँको मौसम अधिकांश समय प्रतिकूल अवस्थामा नै हुन्छ, सरकारले यस्ता विषयलाई गम्भीर रूपमा लिनु पर्छ।” मनाङमा कुनै पनि मानिस गम्भीर बिरामी परेमा अस्पताल पु-याउन हेलिकोप्टरको भर पर्नुपर्ने अवस्था छ। यहाँको मौसमी प्रतिकूलताले चाहेको अवस्थामा हेलिकोप्टर आउन सक्ने अवस्था छैन। यस्तो अवस्थामा एम्बुलेन्सको अभाव खट्किएको छ। एम्बुलेन्स अभावले गर्दा यहाँका स्थानीयवासी मर्कामा परेका छन्।
त्यसो त मनाङमा विमानस्थल नभएको पनि होइन। मनाङ ङिस्याङको हुम्डेमा विमानस्थल भए पनि सञ्चालनमा छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ।