• १४ जेठ २०८१, सोमबार

वालिङमा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम

blog

वालिङमा सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सञ्चालनका लागि हस्ताक्षर गर्दै नगरप्रमुख कृष्ण खाँण र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा निरौला ।

राधाकृष्ण डुम्रे

वालिङ, साउन २४ गते । स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्यलाई सबल बनाउन र नसर्ने रोगबाट बचाउनका लागि कार्यक्रम सुरु गरिएको वालिङ नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । उहाँले भन्नुभयो, “नसर्ने रोगबाट सजिलै बच्न सकिने उपायहरू छन् तर समयमा नै जानकारी नहुँदा नागरिकले अकालमा ज्यान समेत गुमाउनु परेको छ ।” 

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिका बिच कार्यक्रम सञ्चालन गर्ने सहमतिमा हस्ताक्षर भएसँगै स्वास्थ्य सम्बन्धी कार्यक्रम सुरु भएको हो । स्वास्थ्य सेवा विभाग र नगरपालिकाको लागत साझेदारीमा कार्यक्रम सञ्चालन हुने प्रमुख खाँणले जानकारी दिनुभयो । 

नगरपालिकाका १४ वटै वडामा सञ्चालन हुने यो कार्यक्रममा १४ जना स्टाफ नर्स परिचालन गरिने नगरपालिकाले जनाएको छ । नगरको चौतर्फी विकासको लागि सक्षम नागरिक आवश्यक पर्ने उल्लेख गर्दै सक्षमताको लागि स्वास्थ्य पहिलो आवश्यकता रहेकोले स्वास्थ्य सबलताको लागि नगरले पहलकदमी चालेको नगरप्रमुख खाँणको भनाइ छ । 

अभिमुखीकरण तथा सम्झौता कार्यक्रममा सहजीकरण स्वास्थ्य सेवा विभागका वरिष्ठ अस्पताल नर्सिङ शाखा प्रमुख बाला राईले नर्सिङ घरदैलो कार्यक्रमले नेपालमा नराम्रो प्रभाव पारेको नसर्ने रोगको प्रतिकुल प्रभाव र न्यूनीकरणको लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निर्देशक हिरा निरौलाले नागरिकको स्वास्थ्यलाई सबल राख्न नगरपालिकाले चालेको कदम अर्थपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाको सम्पूर्ण वडामा खटिने स्वास्थ्कर्मीहरुले नागरिकको स्वास्थ्य सम्बन्धी पूर्ण तथ्याङ्क सङ्कलन, स्वास्थ्य अवस्था लगायतका विवरण सङ्कलन गर्दै सचेतना फैलाउने काम गर्ने जानकारी दिनुभयो ।

नर्सिङ घरदैलो कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरुले नागरिकलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सर, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका र किशोर किशोरी लगायतलाई प्राथमिकतामा राखेर तथा उनीहरूलाई स्वस्थ जीवनशैलीको आचरण अवलम्बन गर्न सचेतना फैलाउने नगरपालिकाले जनाएको छ । 

पालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकको स्वास्थ्य अवस्था समेटिएको स्वास्थ्य प्रोफाइल तयार हुनेछ र सोही अनुसार स्वास्थ्य सेवा प्रवाहको काम हुनेछ ।