राममणि दाहाल
हेटौँडा, साउन २४ गते । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा बिहीबारबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
गाई भैँसीमा पछिल्लो समय प्रकोपको रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध अभियानअन्तर्गत प्रदेशका ९१ वटा स्थानीय तहमा ५० हजार पशुलाई खोप लगाउने लक्ष्य राखिएको छ । मन्त्रालयले यहाँ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका पशु विकास अधिकृत डा. निशान्त गेलालले बागमती प्रदेशमा हालसम्म दुई लाख चार हजार ९८८ पशु यो रोगबाट प्रभावित बनेको जानकारी दिनुभयो । उहाँले लम्पी स्किन रोगबाट सक्रिय सङ्क्रमित पशु एक लाख १० हजार ४४०, रोग लागेर मरेका छ हजार २९१ र खोप लगाइएका पशुको सङ्ख्या एक लाख ३२ हजार नौ सय रहेको बताउँदै यस प्रदेशमा लम्पी स्किन रोगका कारण पशुको बिरामी हुने दर १०.२७ प्रतिशत, मर्ने दर ३.१ प्रतिशत र १२.०८ प्रतिशत गाईलाई खोप लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “लम्पी स्किन रोगविरुद्धको खोप रोग लागिसकेका र रोगबाट मुक्त भइसकेका पशुलाई लगाइने छैन।”
यस प्रदेशमा करिब १० लाख ९९ हजार ५६० गाई र आठ लाख ९६ हजार २१३ भैँसी रहेको पत्रकार भेटघाटमा जानकारी गराइएको थियो । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट सुरु भएको यो रोगबाट सबैभन्दा बढी काभ्रे, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली जिल्ला भएका छन् । पशु विकास अधिकृत गेलालका अनुसार खोप अभियानअन्तर्गत १४६ जना भ्याक्सिनेटरद्वारा पशुलाई खोप लगाइने छ । अभियानका लागि ७५ लाख रुपियाँ विनियोजन गरिएको छ ।
पत्रकार भेटघाटमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले गर्मीयाममा हुने यो रोगको सङ्क्रमणको जोखिम अझै रहेकोले पशुधनको रक्षाका लागि खोप लगाउन लागेको जानकारी दिनुभयो । उहाँले रोग लागेका पशुलाई छुट्टै राख्ने व्यवस्था नभएका कारण सङ्क्रमण बढीभएको भन्दै खोपसँगै सचेतना वृद्धिका कार्यक्रम गर्ने योजना रहेको बताउनुभयो ।