• २० असोज २०८१, आइतबार

भ्रष्टाचार विरुद्धको युद्ध सुरु भयो अब रोकिँदैन : मन्त्री किराती

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती झापामा भएको आदिबासी दिवसको कार्यक्रममा ।

विष्णुप्रसाद पोखरेल

दमक, साउन २४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध युद्ध सुरु गरेको बताउँदै अब यो नरोकिने बताउनुभएको छ । उहाँले सरकारले अहिले चलाएको भ्रष्टाचार विरुद्धको कदम नरोकिने बताउनुभएको हो ।

बुधबार २९ औ विश्व आदिवासी दिवसको कार्यक्रममा सहभागी हुन कमल गाउँपालिका झापा आउनुभएका मन्त्री किरातीले स्थानीय नेता कार्यकर्ताहरूसँग संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पार्टी र अहिलेको सरकारले जनभावना अनुसारको काम गरिरहेको दाबी गर्नुभयो ।

“हिजो हामीले परिवर्तनका लागि लड्यौ अब भ्रष्टाचार विरुद्ध लड्छौँ,” उहाँले भन्नुभयो । यो लडाइमा अवरोध गर्ने तत्त्वहरू सक्रिय भएपनि नडगमगाइन अघि बढ्ने उहाँको भनाइ छ। “हामी सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्धको युद्धमा होमिसकेका छौँ”, मन्त्री किरातीले भन्नुभयो ।

हरेक अग्रगामी आन्दोलनमा आदिवासी जनजातिको अग्रणी भूमिका

यसैबीच आदिवासी दिवसको अवसरमा कमल गाउँपालिकाकै आदिवासी रङ्गशालामा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किरातीले हरेक अग्रगामी आन्दोलनमा आदिवासी जनजातिहरू अग्रणी भूमिकामा रहेको बताउनुभयो । वि.स.२००७ सालको आन्दोलनमा ब्रिटिस आर्मीबाट अवकाश पाएका आदिवासीहरू सहभागी भएको स्मरण गर्दै उहाँले हरेक आन्दोलनहरूमा उच्च योगदान रहेको उल्लेख गर्नुभयो ।

पुर्खाले छाडेको ७ वटा मानव निर्मित सम्पदा बाहेक नेपालमा अन्य सम्पदाहरू अहिलेसम्म बन्न नसकेको भन्दै यसमा ध्यान दिनुपर्ने बेला आएको उहाँले जनाउनुभयो । पहिचान र संस्कृतिलाई जोगाउनका लागि ढिला गर्नु नहुने उहाँको भनाइ छ । “हामीले पूर्वको पहाडदेखि पश्चिमका पहाडहरूसम्म पहिचानमा आधारित सम्पदा निर्माण गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।