बुलबुले समाचारदाता
सुर्खेत, साउन २४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयको गोदाममा अत्यावश्यक मौज्दातबाहेक चामल सकिएको छ। गोदाम रित्तिए पनि थप खाद्यान्न आपूर्ति हुन सकेको छैन। पछिल्लो केही समययता खाद्य आपूर्ति ठप्प भएको छ।
प्रादेशिक कार्यालयले २० हजार क्विन्टल चामल माग गरे पनि टेन्डर प्रक्रियामा भएको ढिलाइले चामल ढुवानी हुन सकिरहेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दका अनुसार माग गरिएको चामल समयमा पु-याउन सकिएको छैन। दुई पटकसम्म टेन्डर रद्द भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुनु, भारतले चामल आयातमा प्रतिबन्ध लगाउनु र टेन्डर प्रक्रियामा ढिलाइले खाद्य आपूर्तिमा विलम्ब भएको हो।
उहाँका अनुसार प्रदेशमा पठाउने आठ हजार क्विन्टलका लागि सम्झौताको काम अन्तिम चरणमा पुगेको छ। बाँकी १२ हजार क्विन्टल चामल ढुवानीका लागि टेन्डर खुलाइएको छ। खाद्य अभाव हुन नदिने गरी प्रक्रियागत रूपमा काम भइरहेको छ। दुर्गममा खाद्य अभाव हुन नदिने गरी व्यवस्था मिलाइएको बताइन्छ। प्रादेशिक कार्यालयमा ७५० क्विन्टल चामल मौज्दात छ। गोदाम रित्तिएसँगै अन्य चालम बिक्रीवितरण गरिएको छैन। यसले गर्दा चामल खरिदका लागि आएका नागरिक रित्तै घर फर्किनुपर्ने अवस्था छ। अघिल्लो वर्ष यो समयमा कार्यालयमा १२ हजार क्विन्टल चामल मौज्दात रहने गरेको थियो।
प्रादेशिक कार्यालयका प्रमुख माधव मिश्रका अनुसार माग गरिए अनुसार खाद्य आपूर्ति नहुँदा सहज रूपमा चामल बिक्री गर्न नसकिएको हो। मौज्दातबाहेक गोदाममा चामल छैन। प्रक्रिया अघि बढेकाले अबको केही दिनमा चामल गोदाममा आइपुग्ने बताइन्छ।
गोदाममा दुई हजार दुई सय मूल्य पर्ने चार क्विन्टल मसिनो चामल मात्र छ। अन्य चामल छैन। गोदाम खाली नै छ। चामलले टनाटन भरिने खाद्य गोदाम रित्तिएपछि उपभोक्ता चिन्तित छन्। खाद्यमा चामल नभएपछि बजारबाट महँगोमा चामल किनेर उपभोग गर्नु परेको स्थानीय जोगी सुनारले बताउनुभयो। उहाँले भन्नुभयो, “खाद्यको गोदाममा चामल लिन पुगेको थिएँ। चामल नपाएपछि रित्तै फर्किएँ।”
जुम्लामा पनि चामल मौज्दात न्यून छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लामा आयात हुँदै आएको चामल अभाव हुने देखिएको छ। अहिले सर्वसाधारणका लागि वितरण स्थगित गरिएको छ। कार्यालय प्रमुख निर्मल विष्टका अनुसार अघिल्लो आर्थिक वर्षबाट बचेको ९६० क्विन्टल मात्रै मौज्दात छ। अति आवश्यक काममा प्रयोग गर्ने गरी चामल मौज्दात राखिएको हो। नयाँ चामल ढुवानी नहुँदासम्म सर्वसाधारणका लागि चामल वितरण स्थगित गरिएको हो।
दुई हजार क्विन्टल खाद्यान्न आपूर्ति गर्न प्रादेशिक कार्यालयमार्फत केन्द्रीय कार्यालयलाई अनुरोध गरिएको बताइन्छ। मुगु जिल्ला सदरमुकामस्थित नेपाल खाद्य संस्थानको गोदामबाट सर्वसाधारणले चामल पाएका छैनन्। गोदाममा ६०८ क्विन्टल मात्र चामल मौज्दात छ।
ढुवानी हुनुपर्ने चामल आपूर्ति नहुँदा समस्या भएको संस्थानको शाखा कार्यालयले जनाएको छ। चामल लिन गाउँबाट सदरमुकाम आएका स्थानीय रित्तो हात फर्कन बाध्य छन्। अत्यावश्यकबाहेक नागरिकका लागि चामल बिक्री स्थगित गरिएको खाद्य संस्थानका शाखा प्रमुख पुष्कर भामले जानकारी दिनुभयो। उहाँका अनुसार बजारमा चामल पर्याप्त छ। नयाँ चामल नआउने बेलासम्म गोदामबाट बिक्रीवितरण गरिने छैन।