• ६ जेठ २०८१, आइतबार

अवरुद्ध राजमार्ग छिटो सुचारु गर्न मुख्यमन्त्रीको निर्देशन

blog

पहिरोको अवलोकन गर्नुहुँदै मुख्यमन्त्री । तस्बिर: मुख्यमन्त्रीको निजी सचिवालय

अविनाश चौधरी

धनगढी, साउन २४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोका कारण गएरातिबाट अवरुद्ध भीमदत्त राजमार्गलाई छिटो सुचारु गर्न निर्देशन दिनु भएको छ । 

हिजो गोदावरी नगरपालिका–४ स्थित भावर बुढी तोला क्षेत्रमा खसेको पहिरोको अवलोकन गर्नुहुँदै उहाँले छिटै अवरोध पन्छाएर राजमार्ग सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो । वर्षाका कारण ठुलो पहिरो गएपछि हिजोदेखि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । साथै पहिरोका कारण राजमार्ग चर्किनुका साथै भासिएको छ । 

पहिरोले राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको यातायात ठप्प भएको छ । पहाडबाट तराई झर्ने सवारी साधनसहित यात्रु बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाउने कार्य भइरहे पनि यातायात अझै सञ्चालन हुन सकेको छैन । यात्रुहरू बिचल्लीमा परेका छन् । बिरामी तथा वृद्धवृद्धाहरुलाई भने नेपाली सेनाको उद्धार टोलीले स्ट्रेचर र पिठ्युँमा बोकेर पहिरो पार गराएको छ । आजसम्म एकतर्फी बाटो सञ्चालन गर्ने प्रयास भइरहेको छ । 

यस्तै, मुख्यमन्त्री शाहले सोही वडामै रहेको गोदावरी धाममा भएको क्षतिको पनि अवलोकन गर्नु भएको छ । गोदावरी नदीमा एक्कासि आएको बाढीले धामको मन्दिर, श्रीयन्त्र लगायतका संरचनामा क्षति पुर्याएको छ । अनुगमनको क्रममा मुख्यमन्त्रीले बाढीले गरेको क्षतिको पुन निर्माण र नागरिकलाई विपत्तिबाट जोगाउन प्रदेश सरकार तयार रहेको बताउनुभयो । 

मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा पहिरो खसेको स्थानमा पुग्नु भएको थियो ।