अमरराज नहर्की
तनहुँ, साउन २३ गते । नाहाला भत्किएपछि तनहुँको सदरमुकाम दमौली बजार जलमग्न भएको छ । पोखरा-मुग्लिङ सडक खण्ड चार लेनको निर्माण गर्ने क्रममा पृथ्वीराजमार्गको ढल निकासको नाला भत्किएपछि जलमग्न भएको हो ।
मुख्य सडक र सहायक सडकमा पानी भरिएर सडक छेउका घर र पसलमा पानी पसेको थियो । जलमग्न भएपछि व्यास नगरपालिकाको जेसिबी र ट्र्याक्टर प्रयोग गरेर मङ्गलबार दिउँसोबाट ढल व्यवस्थापन गरी पानीको निकास गरिएको छ ।
नगर उपप्रमुख इन्दिरा दरै र वन वातावरण तथा विपत् व्यवस्थापनका संयोजक रणसिं नेपालीको नेतृत्वमा जलमग्न बनेको तरकारी लाइनमा बिहान देखिनै जेसिबी र ट्र्याक्टर प्रयोग गरेर ढल व्यवस्थापन गरी पानीको निकास गरिएको हो ।
सडक विस्तारको क्रममा सडक डिभिजनले राजमार्गको सडकको पानीको उचित निकास व्यवस्थापन हुन नसक्दा यस्तो समस्या भएको उपप्रमुख दरैले जानकारी दिनुभयो ।
उपप्रमुख इन्दिरा दरैले भन्नुभयो, “राजमार्ग विस्तारको क्रममा छ, सडक विभागले हेर्नुपर्ने हो तर तत्कालको लागि अस्थायी रूपमा ढलको निकास गरिएको छ ।”
नगरपालिकाका सहायक इन्जिनियर प्रदीप पौडेलले राजमार्ग विस्तारको क्रममा नालामा रहेको ह्युमपाइप बन्द भएपछि पानीको निकास बन्द भएको जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “राजमार्ग विस्तारको क्रममा नालीहरू भत्किएका छन्, जसले गर्दा पानीको उचित निकास हुन सकेको छैन ।”
जेसिबीबाट पानीको निकास गरिएपछि तत्कालका लागि समस्या हटेको नगरपालिकाले जनाएको छ ।