• १३ मंसिर २०८१, बिहिबार

रारा स्वर्गकी अप्सरा

blog

हरिकृष्ण ऐडी 

मुगु, साउन २२ गते । 

ए! रारा! बताऊ!

रारा भनेको तिमी को हौ ?

स्वर्गकी अप्सरा ?

२०३१ सालमा कवि मविवि शाह मुगुको लेकतिर चढ्दा रारा तालको रूपले निकै मोहित हुन पुगेको प्रमाण यही कविता हो। त्यसपछिका दिनमा राराले अर्को उपनाम पायो, ‘स्वर्गकी अप्सरा।’ राजा महेन्द्रले राराकी अप्सरा शीर्षकमार्फत मुगुको रारा महìव र महिमा उजागर गर्नुभयो।

कवितामार्फत मुगुको रारालाई पहिचान दिएको भन्दै कतिपयले रारा ताललाई महेन्द्र तालसमेत भनेको पाइन्छ। रारा तालको छिमेकी रहेको रड्याल शाह गाउँको संस्कृति, चाडबाड, कृषि र यहाँको मठमन्दिर, पञ्चायत घर जस्ता पुराना संरचना एवं ललितकलाको प्रभावले राजा महेन्द्र मोहित भएको देखिन्छ। महेन्द्रको रारा भ्रमणपछि नै नेपाली र विदेशी पर्यटक रारा खोज्दै आउन थालेको स्थानीय रूपबहादुर मल्लले बताउनुभयो।

रारामा पर्यटन सम्भावना प्रचुर छ। राराको पर्यटनले मुगुलाई मात्र होइन प्रदेश र राज्यकै आर्थिक विकासमा टेवा दिन सक्ने सम्भावना छ। स्थानीय समाजसेवी विनोदकुमार मल्लका अनुसार रारा पर्यटनकै कारण जुम्ला र मुगुमा होटल व्यवसाय फस्टाएको छ। समाजसेवी मल्लका अनुसार राराको पर्यटन क्षेत्रलाई दुई कालखण्डमा विभाजन गर्न सकिन्छ। कोभिड महामारी पूर्वकाल र महामारीपश्चात्को कालखण्ड। 

पर्यटन व्यवसायी दुर्गा रावलले कोरोनाकालअघिको राराको पर्यटन निकै राम्रो भएको बताउनुभयो। उहाँका अनुसार कोरोना समयमा पर्यटन धराशायी बन्यो। त्यसपछिका दिनमा राराको पर्यटन पुरानै अवस्थामा तर नयाँ तरिकाले फर्केको छ। राराको सौन्दर्य कायमै राख्न यहाँ गर्नुपर्ने काम धेरै छन्।

उहाँका अनुसार रारामा पर्यटकलाई आकर्षित गर्ने प्राकृतिक सम्पदा हुन्। त्यसलाई जोगाइराख्न यहाँका डाँडाकाँडा, खोलानाला, भौगोलिक परिस्थितिलाई जोगाउन आवश्यक छ। यहाँको संस्कृति, रहनसहन, वेशभूषा, चाडपर्व, मेलमिलाप, आपसी सद्भाव र सहयोगले पर्यटक विकासमा महत्वपूर्ण टेवा पुग्छ। राराको राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्रमा, वनजङ्गल, रुखबिरुवा, जडीबुटी, वन्यजन्तु र वातावरणले पर्यटकलाई लोभ्याउँछ।

मुर्माटपबाट सूर्योदय सूर्यास्तको मनोरम दृश्यसहित रात्रि दृश्यले पर्यटकलाई आकर्षित गर्छ। पर्यटन व्यवसायी रावलले भन्नुभयो, “हाम्रो जिल्लाका सम्पदा र पर्यटकीय सम्भाव्यताको दिगो विकासमा जोड पुग्न सकेको छैन। हामीसँग यस्ता पर्यटनको अथाह सम्भावना रहे पनि यसलाई औजार बनाएर अत्यधिक आर्थिक सफलता प्राप्त गर्न कहीँ कतै चुकिरहेका छौँ।”

समस्या कहाँ छ ?

रारा पर्यटनले सोचे जस्तो उचाइ नलिनुका प्रमुख कारण सङ्घीय, प्रदेश र स्थानीय सरकारबिच रारा सम्भाव्यताबारे चासो र छलफल नहुनु  व्यवसायीको बुझाइ छ। 

पर्यटन विकासका लागि सडक, गोरेटो बाटो, होटल, लज, हवाई सेवामा सुधार आवश्यक हुन्छ। सांस्कृतिक सम्पदाको उचित मर्मतसम्भार एवं सरसफाइमा ध्यान दिन आवश्यक रहेको व्यवसायी बताउँछन्। 

रारा राष्ट्रिय निकुञ्जको कार्यालय रारा हुटुले पर्यटन क्षेत्रबाट गत आर्थिक वर्षमा ३६ लाख नौ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ।

 तथापि रारा पर्यटनको दिगो विकास र सुधारमा खासै गतिला कार्ययोजना तयार नगरिएको बताइन्छ। कवि मविवी शाहले भने जस्तै हामीले राराको रम्यता चिन्न नसकेको पो हो कि ?

तैपनि तिमीलाई चिन्न सकिनछु,

बोल्न सकिनछु,

व्याख्या गर्न मेरो कलमै चलेनछ।

त्यसैले अत्तालिँदै सोधेछु,

कराएछु, चिच्याएछु

ए! रारा! बताऊ!

रारा भनेको तिमी को हौ ?

स्वर्गकी अप्सरा?