• ११ मंसिर २०८१, मङ्गलबार

‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिका विमोचन

blog

‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिकाको विमोचन गरिँदै । तस्बिर : रासस

काठमाडौं, साउन २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिकाको विमोचन गर्नुभएको छ ।परियार समाजद्वारा आइतबार आयोजित कार्यक्रममा मन्त्री किराँतीले सो पुस्तक विमोचन गर्नुभएको हो ।

समाजले गोरखा नगरपालिकाको सहकार्यमा विसं २०७५ साउन १८ गते नगरपालिकाको ऐतिहासिक स्थल गोरखा दरबार समीपमा ‘बिसे नगर्ची’ को सालिक स्थापना भएको छैटौँ वर्ष प्रवेशको स्मृति दिवसका अवसरमा बिसे नगर्ची तथा परियार जातिसम्बन्धी खोजमूलक ‘बिसे नगर्ची विशेषाङ्क’ प्रकाशन गरिएको हो ।

पुस्तकमा परियार जातिको परिचय, परिचालन र बिसे नगर्चीको योगदानको विरासतलाई बचाउन परियार जातिका विविध पक्षको जानकारी र बिसे नगर्चीको इतिहास खोजबिन गरी समावेश गरिएको छ ।

गोरखाका बिसे नगर्चीले राजा पृथ्वीनारायण शाहलाई एकीकरणको अभियानमा आर्थिक सल्लाह दिई अहिलेको विशाल नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान गर्नुभएको पुस्तकमा उल्लेख छ ।

सोही अवसरमा पर्यटनमन्त्री किराँतीले बिसे नगर्चीको योगदान ओझेलमा परेको उल्लेख गर्दै सरकारले बिसे नगर्चीको नामबाट राष्ट्रिय पुरस्कार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली समाजको प्राज्ञिक अध्ययन नभएका कारण पनि बिसे नगर्चीको योगदान ओझेलमा परेको छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।”

नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले नयाँ पुस्ताले समाजको उत्थान र विकासका निम्ति केही गर्नसकेको खण्डमा वास्तवमा बिसे नगर्चीको सम्मान हुने बताउनुभयो ।

समाजका उपाध्यक्ष कृष्ण रणपालले कृतिले परियार जाती र बिसे नगर्चीको चिनारीलाई सबैका बिचमा पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । समाजले काठमाडौँस्थित चन्द्रागिरि नगरपालिकामा ‘बिसे नगर्ची’ को सालिक निर्माण गरेर योगदान गरेबापत जागरण मिडिया सेन्टरका सचिव दिनेश परियारलाई सम्मान गरेको थियो । रासस