• २० असोज २०८१, आइतबार

आँखा पाक्ने रोग बढ्दै

blog

उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पुगेका बिरामी । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, साउन २१ गते । जिल्लामा केही दिनदेखि आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । आँखा पाक्ने रोगको प्रकोपले घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ । 

मौसम परिवर्तन र दूषित वातावरणले गर्दा आँखा पाक्ने रोगका बिरामी बढेको राप्ती आँखा अस्पतालका रेटिना रोग विशेष डा. सन्तोष सुवेदी बताउनुहुन्छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, भालुबाङ आँखा उपचार केन्द्रलगायतका उपचार केन्द्रमा आँखा पाक्ने रोगका बिरामी बढेका छन् । 

राप्ती आँखा अस्पतालका रेटिना रोग विशेष डा. सुवेदीले बिरामी प्रायःजसो आँखा रातो हुने समस्या लिएर बिरामी अस्पताल आउने गरेका बताउनुभयो । वर्षाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको संक्रमण बढेको उहाँको भनाइ छ । डा. सुवेदीका अनुसार बिरामीमा कन्जन्टेभाइटिस, आँखा चिलाउने, रातो हुने, आँखा सुनिने र सुक्खा हुने समस्या देखिएको छ । उहाँले भन्नुभयो, “कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ, यो सरुवा रोग हो । कन्जन्टेभाइटिसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भइ सुन्निन्छ । यसमा आँखाबाट आँसु बग्ने, परेलीको डिल सुन्निने हुन्छ ।”

आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफूखुसी औषधि किनेर प्रयोग गर्दा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीलाई देखाएर मात्रै औषधीको प्रयोग गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “अस्पताल आउने बिरामीमध्ये धेरै बिरामी अहिले आँखा पाक्ने रोगका आउने गरेका छन्,आँखा पाक्ने रोगले धेरैलाई समस्या गराएको छ।”

एक हप्ताअघि राप्ती आँखा अस्पतालमा दुईदेखि ३ सयसम्म आँखा उपचारका लागि बिरामीहरु आउने गरेपछि पछिल्लो समय दैनिक साढे ४ सयदेखि ५ सयसम्म बिरामी आउने गरेको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले बताउनुभएको छ । उहाँका अनुसार त्यसमा ६० प्रतिशत आँखा बिझाउने रातो हुने आँसु आउने घाममा हेर्न नमिल्लने लक्षणका बिरामी आउने गरेको बताउनुभयो । उहाँले तीन दिनमा एक हजार ४ सय ७३ जना आँखा उपचारका लागि अस्पतालमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा बिरामीको चाप छ । पछिल्लो समय आँखा पाक्ने रोग धेरै फैलिएको छ ।”

सङ्क्रमणबाट बच्नका लागि बिरामीले प्रयोग गरेका वस्तुहरू प्रयोग नगर्ने, हात–मुख धुनेजस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि सङ्क्रमित आँखामा मात्र झोल औषधिको प्रयोग गर्ने र हात राम्ररी धुने गरेमा रोगबाट बच्न सक्ने नेत्ररोग विशेषज्ञहरूको सुझाव छ ।