• १२ मंसिर २०८१, बुधबार

डेंगुबाट बच्न बेनीमा 'लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने' अभियान

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन २१ गते । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको सङ्क्रमण फैलिन नदिनका लागि बेनी नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान थालेको छ।

बेनी नगरपालिकाभित्रको वडा कार्यालयको अगुवाइमा डेंगुको उच्च जोखिममा रहेका स्थानहरुमा डेंगु रोग सार्ने लामखुट्टे र यसले अण्डा पार्ने पानी जम्ने स्थानहरू खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरिएको हो । 

नगरपालिकाले स्थानीय टोल विकास समिति, आमा समुह, युवा क्लब लगायतका सङ्घ÷संस्थासँग सहकार्य गरेर लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान थालेको हो । लामखुट्टेको बासस्थान रहन सक्ने गाडीको पुरानो टायर, ड्रम, गमला, खाल्डाखुल्डी, नालीमा लामो समयदेखि जमेको पानीको समेत सरसफाइ गरिएको बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवम् बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले बताउनुभयो । 

“अब यो अभियान निरन्तर जारी रहन्छ, डेंगु नियन्त्रणको घरभित्र र वरिपरि पानी जम्न नदिन टोलबासीलाई नियमित सरसफाई गर्न पनि अनुरोध गरिएको छ,” वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो । सरसफाई अभियानमा स्थानीयबासीका साथै जनप्रतिनिधि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीय बासीले सहयोग गर्नुभएको थियो । 

आ-आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेंगु नियन्त्रणको उत्तम उपाय रहेकाले टोलबासीको नियमित सरसफाइसँगै थप कार्ययोजना बनाएर काम गर्ने सदरमुकाम बेनीको वीरेन्द्रचोक टोल विकास समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो । 

सन् २०१९ देखि सन् २०२३ सम्मको अवधिमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगका बिरामीहरु तीन सय १७ पुगेका छन् भने मुसामा हुने किर्नाको टोकाइबाट लाग्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या एक सय १९ पुगेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । उहाँका अनुसार डेङ्गुका बिरामी सन २०१९ मा ११ जना सन् २०२० मा ९९ जना, २०२१ मा ६८, २०२२ मा ८१ जना डेङ्गुका बिरामी भेटिएकोमा सन २०२३ को पहिलो ७ महिनाको अवधिमै ५८ जनामा डेङ्गुको सङ्क्रमण पाइएको छ। 

चालु वर्ष सन् २०२३ को शुरुको ७ महिनाको अवधिमै झण्डै ६० जना बिरामी भेटिएकोले सन २०२२ भन्दा बिरामीको सङ्ख्या बढ्न सक्ने निमित्त प्रमुख लम्सालको भनाइ छ । त्यसैगरी स्क्रब टाइफसको बिरामीको सङ्ख्या पनि गतवर्षको भन्दा बढ्ने सङ्केत देखिएको उहाँको भनाइ छ । 

मुसामा हुने किर्ना जस्तै परजीवीको टोकाइबाट सर्ने यो रोगका बिरामी सन २०२० मा ६१ जना देखिएका थिए । त्यसपछि सन् २०२१ मा २५ जना, २०२२ मा १९ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने सन २०२३ को जुलाई महिना सम्ममा १४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।