• १५ वैशाख २०८१, शनिबार

लुम्बिनी विकास कोष

स्वच्छ छविको व्यक्ति उपाध्यक्ष बनाउन सुझाव

blog

काठमाडौँ, साउन २१ गते । बौद्ध धर्म संस्कृतिसँग सम्बन्धित व्यक्तिले लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएका व्यक्ति वा धर्मगुरु नियुक्ति हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । यही साउन १५ गते कोषका वर्तमान उपाध्यक्षको कार्यकाल समाप्त भएको सन्दर्भमा गोरखापत्रसँग कुरा गर्दै उहाँहरूले कोषको गरिमामय पदका लागि विवादित व्यक्ति उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो । 

उपाध्यक्षको कार्यकाल समाप्त भएसँगै कोषमा नयाँ उपाध्यक्ष नियुक्तिको चर्चा सुरु भएको छ । उपाध्यक्षका लागि बौद्ध धर्म तथा संस्कृतिसँग सम्बन्धित विभिन्न व्यक्तिको चर्चा भइरहेको छ । त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका पूर्वउपप्राध्यपक भिक्षु आनन्दले लुम्बिनी विकास कोष जस्तो पवित्र संस्थाको उपाध्यक्ष पदमा विवादरहित नियुक्त हुनुपर्ने बताउनुभयो । संविधान सभा सदस्यसमेत भइसक्नुभएका उहाँले बौद्ध धर्मसम्बन्धी ज्ञान भएको हाम्रोभन्दा राम्रो व्यक्ति सो पदका लागि उपयुक्त हुन बताउनुभयो । 

लाभ वा फाइदा लिन खोज्ने चरित्रका व्यक्ति कुनै पनि सर्तमा कोषको उपाध्यक्षमा हुन नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “यसअघि कुनै विवादमा नमुछिएका, फौजदारी अभियोग नलागेका, लुम्बिनी, बौद्ध धर्म र दर्शनसम्बन्धी ज्ञान भएका, शुद्ध चेतना भएको व्यक्ति मात्र सो पदका लागि उपयुक्त हुन सक्छ ।” उहाँले कुनै राजनीतिक पहुँचका आधारमा उपाध्यक्ष नियुक्त गर्न नहुने बताउनुभयो ।

लुम्बिनी विकास कोषका धार्मिक सल्लाहकार प्राडा नरेशमान वज्राचार्यले केही वर्षयता कोषको नाम र काम अनुसारको व्यक्ति उपाध्यक्ष हुन नसकेको गुनासो गर्दै स्थापनाकालदेखिको कोषको गरिमालाई जोगाउन सक्ने व्यक्ति कोषको उपाध्यक्ष हुनुपर्ने बताउनुभयो ।  

“सो पद लुम्बिनी र बुद्ध धर्मसँग जोडिएको हुनाले भिक्षु र लामा उपाध्यक्ष हुनु राम्रो कुरा हो,” उहाँले भन्नुभयो, “वज्रायान परम्पराका गुरुहरू भनेको बज्राचार्यहरू हुनुहुन्छ तर अहिलेसम्म यो सम्प्रदायबाट उपाध्यक्ष भएको छैन । यस कुरालाई पनि ध्यानमा राखेर कोषको उपाध्यक्ष नियुक्त हुनु पर्छ ।” 

बौद्ध धर्मबारे विद्यावारिधि गर्नु भएका डा. वज्रमुनि वज्राचार्यले लुम्बिनी विकास कोष जस्तो पवित्र ठाउँमा कुनै पनि किसिमले दाग लागेका व्यक्तिलाई नियुक्त गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वच्छ चरित्र भएका र बौद्ध धर्म, दर्शन, संस्कृतिबारे दखल भएका व्यक्ति त्यस पदमा नियुक्त हुनु पर्छ ।” 

लुम्बिनीसँग सम्बन्धित हुनुका साथै बौद्ध भावना भएका तथा विकासप्रेमी व्यक्ति कोषको उपाध्यक्ष हुनुपर्ने कोषका पूर्वकार्यकारिणी सदस्य भिक्षु कौडिण्यले बताउनुभयो । कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको कार्यकाल सकिएसँगै नयाँ उपाध्यक्ष नियुक्तिको चर्चा सुरु भएको हो । २०७५ सालमा कोषको उपाध्यक्ष नियुक्त हुनुभएका त्रिपाठीको कार्यकाल साउन १५ गते समाप्त भएको थियो । 

२०४२ सालमा स्थापना लुम्बिनी क्षेत्रको विकासका लागि बनेको कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था छ ।

अहिले सो पदका लागि डा. वज्रमुनि वज्राचार्य, भिक्षु आनन्द, कोषको पूर्वकार्यकारिणी सदस्य भिक्षु कौन्डय, पूर्वसांसद ल्यारक्याल लामा, गायिका आनीछोइङ डोल्मा, निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय), पूर्वउपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध) लगायतको चर्चा छ ।