• १३ मंसिर २०८१, बिहिबार

डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

blog

डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजी र नष्ट गरिँदै । तस्बिर : रामप्रसाद राना

अविनाश चौधरी
धनगढी, साउन २० गते । 
कैलालीमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान थालिएको छ । डेंगुको महामारी नियन्त्रण र रोग रोकथाम गर्ने उद्देश्यले लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान थालिएको हो । गर्मी याम र वर्षातको सुरुवातसँगै यो रोगबाट मान्छे बिरामी पर्न थालेका छन् । एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट मान्छेमा डेंगु रोग लाग्ने गर्दछ । यो प्रजातिको लामखुट्टेले दिउँसोमात्रै मान्छेलाई टोक्ने गरेको जनाइएको छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको महामारी फैलिन नदिन र रोकथामका लागि जिल्लाभरि नै लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार सरकारी कार्यालयसहित विभिन्न सङ्घसंस्था, महिला स्वास्थ्य स्वयम् सेविका, आमा समूहलगायतको सहभागितामा हरेक शुक्रबार कार्यालय परिसर र आसपासमा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने कार्य भइरहेको छ ।

यो प्रजातिको लामखुट्टेको लार्भा लामो समयसम्म पानी जमिरहने ठाउँमा हुर्कने गरेकाले त्यस्तो ठाउँमा हरेक हप्ता सरसफाइ गर्ने कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सरुवा रोग स्रोत व्यक्ति मीनबहादुर धामीले बताउनुभयो ।

उहाँका अनुसार कैलालीमा साउन १६ गतेसम्म पाँच जना डेंगुको बिरामी देखा परेका छन् । यसअघि वैशाखमा १३, जेठमा १२ र असारमा छ जनामा डेंगु देखिएको धामीले जानकारी दिनुभयो ।

घर वरपर रहेको टिनको बट्टा, प्लास्टिक, गमला, टायरलगायतमा लामो समयदेखि जमेको पानीमा लामखुट्टेको लार्भा बाँच्ने गरेकाले यस्तो ठाउँमा जमेको पानी फाल्न आवश्यक रहेको जनाइएको छ । अभियानको क्रममा समुदायस्तरमा गएर जमेको पानी फाल्ने र सरसफाइ गर्नुका साथै सचेतना फैलाउने कार्य भइरहेको छ । यसका साथै सञ्चार माध्यमबाट सचेतनामूलक सन्देश प्रकाशन, प्रसारण गर्ने कार्य भइरहेको जनाइएको छ ।

धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा पनि लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान जारी रहेको सो उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिकाको सबै वडामा सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयम् सेविकाले कम्तीमा पनि हप्ताको एक दिन टोल–टोलमा गएर डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने कार्य गरिरहेका छन् । यो अभियान असोजसम्म जारी रहने छ ।”

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गतवर्ष यो जिल्लामा असोज १३ गतेसम्म ४०४ जनामा डेंगुको सङ्क्रमण भएको थियो । जसमध्ये दुई जनाको मृत्यु भएको थियो ।

यो रोग लागेमा एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको दुख्ने, बान्ता हुने, थकान लाग्ने जस्ता लक्षण देखा पर्ने गरेको जनाइएको छ । डेंगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न आवश्यक रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । यसैगरी, झुल लगाएरमात्रै सुत्ने, घर वरिपरि सरसफाइ गर्ने, भाडाकुँडामा लामो समयसम्म पानी जम्न नदिने जस्ता कार्य गर्न आवश्यक रहेको जनाइएको छ ।